मंसिर २९,
अर्जुन थापा
म एउटा ठूलो खाल्डोभित्र छु । कतै उज्यालो भेटिन्छ कि भनेर आँखा डुलाउँछु । खाल्डाका भित्तातिर, सतहतिर चिच्याउँछु कसैले मेरो आवाज सुन्छन् कि भनेर । त्यसपछि मलाई शङ्का लाग्न थाल्छ उज्यालोप्रति । उज्यालो मेरो गलतबोध हो । यस अन्धकारभित्रको खाल्डोमा मैले अब अन्धकारलाई स्वीकार्न पर्छ । एक्कासि ममा विद्रोहको भावना उठ्न थाल्छ । भएभरको बल लगाएर भित्ता चढ्न खोज्छु म ।
लामो आलरामको आवाजले झल्याँस्स ब्युँझन्छु । ओहो ! कस्तो डरलाग्दो सपना देखेछु । यसो छाम्छु लुगा पसिनाले निथ्रुक्क भिजिसकेछ । कस्तो डरलाग्दो सपना । कहिल्यै छोड्ने भएन यस्ता ताल न तुहिका सपनाहरूले । कसैले केही बिगार पो गर्देको छ कि यस कोठामा । छ्या म पनि के भएको होली । यसरी सोच्नु हुँदैन बेकामका कुराहरूले बौलाह हुन बेर छैन । आफूलाई स्वाभाविक बनाउन सक्तो कोसिस गर्छु तथापि मन एउटा निष्कर्षमा नपुगनी छोड्दैन । होइन भएको चाहिँ के छ मलाई अचेल । कुनै अनिष्ट हुन लागेको सङ्केत त होइन ? झन् छोरी अमेरिका पढ्न गएदेखि यस्ता कुराले सताउन थालेका छन् । म आफू नै कमजोर भएँ भने त सक्किहाल्यो नि !
कस्ताकस्ता दुःखकष्टलाई पराजय गर्दै । यो मतलबी समाजसँग लाप्पा खेल्दै आजको दिनसम्म आइपुगेको छु । के थियो र आजभन्दा चालीस वर्ष अगाडि मेरो आफ्नो भन्नु सिवाय छोरीबाहेक । घर र समाजको विरुद्धमा गएर हामीले सुटुक्क मन्दिरमा गएर विवाह गरेका थियौँ । हामीले विवाह गर्दा छोरी पेटमा बसिसकेको थिई । जब म पर नसरेको चार पाँच महिना भइसकेपछि घरमा भन्दा बुबाले मेरो मुख हेर्न छोडेको अझै याद आउँछ । हाम्रो विवाह हुन नदिन घरबाटै कति कदम उठाउँदा पनि म अलिकति पनि पछि नहटी बसिराखे मात्र हाम्रो प्रेमलाई सफल बनाउन ।
विचरी मेरी आमाले विवाह अगाडि छोरीले बच्चा बोकेको कुरा आफन्तहरूले थाहा पाउँछ भनेर केके मात्र नाटक गरिनन् । हाम्रो विवाह भएको चार महिनामा छोरी जन्मेकी थिई । त्यसपछि समाजबाट एक्लिएर हामी तीनजना काठमाडौँ आएका थियौँ म, ऊ र छोरी । अन्जान सहरमा चार महिनाको बच्ची त्यसमा हामी दुईको केही कमाउने बाटो थिएन । दुःख भनेको जब पर्न थाल्छ । अनि एकएक गरेर आउँछ भनेझैँ काठमाडौँ आएको केही समयमा नै ऊ पनि पढाइ पूरा गर्छु भनेर अमेरिकातिर लाग्यो । अहिले आएर बुझ्दैछु, ती सब उसको आमा बाबुले हामी दुईलाई अलग पार्न र समाजबाट जोगिनलाई ती सब प्रपञ्च रचेका रहेछन् भन्ने ।
उमेर थियो र आफूप्रति पूर्ण विश्वास थियो कि, ती सबका अगाडि गरेर देखाउँछु भन्ने । लुकीलुकी भए पनि आमाको सपोर्ट थियो । बस् मलाई अरू के नै चाहिन्थ्यो र । साँझ बिहान पढेर, काम गर्दै छोरीलाई राम्ररी नै हुर्काएँ । सिङ्गल मदर भएर पनि समाजका ती गालीहरूलाई पैतलामुनि पारेर आज त्यही समाजको अगाडि त्यही व्यक्तिहरूलाई उनीहरू कति गलत रहेछन् भन्ने आत्मबोध गराउन सफल भएकी छु ।
जुन व्यक्तिहरू मेरो सामुन्ने पर्दा साइत पर्दैन भनेर अर्कै बाटो हिँड्थे भने आज तिनीहरूकै घरमा मेरो एक पाइला परे पनि पवित्र हुन्छ जस्तो गर्छन् । आज त्यही समाजले मेरो उदाहरण लिने गर्छन् ।
एउटा नारीले चाहेमा के मात्र गर्न सक्दैनन् भन्ने यी घृणित, स्वार्थी समाजलाई हामी दुई आमाछोरीले देखाउन सफल भएका छौँ । एउटा नारीले उसको लोग्नेबिना पनि आफ्ना बच्चाहरूलाई सही शिक्षा र राम्रो संस्कार दिन सक्छे भन्ने प्रमाणित गरिदिएको छु मैले ।
आज कलेज टप गरेर अमेरिकाको कलेजमा फुलस्कलरसिपमा पढ्दैछे मेरी छोरी । हो, म आज घमण्ड गर्छु आफैँप्रति र छोरीप्रति पनि र ती सबजना जसले मलाई तिरस्कार गरे, घृणा गरे, हेँला गरे ती सबैलाई धन्यवाद दिन चाहन्छु । आज तिनीहरूकै कारण आफू बलियो हुनलाई प्रेरित ग¥यो । केटामान्छेको साथबिना महिलाको केही चल्दैन । सिङ्गल वेमन भएर बाँच्न गाह्रो छ भन्ने मान्छेको मुखमा बिर्को लगाउन सफल भएको छु आज म ।
चौध महिनाको छोरीलाई छोडेर गएको थियो उसले । आजको दिनसम्म न उसले न उसको फेमिलीले कुनै शोधखोज गरे । न हामीले नै जान्न खोज्यौँ उनीहरूलाई । बाबु भने नि, आफन्त जोजो भने नि सबै म मात्र हो भन्छे छोरी मलाई ।
‘हेल्लो मामु, हाउ यु डोइङ ?’ भिडियो च्याटमा देखा पर्छे छोरी ।
‘आई एम गुड, के छ तिम्रो ? यु लुक सो ह्याप्पी टुडे ?’
‘एस, मामु । आई एम सो ह्याप्पी, योर ड्रिम्स विल बी फुलफिल्ड भेरी सुन । आई गट सेलेक्टेड इन भेरी गुड कम्पनी एन्ड एन्ड … ।’
‘एन्ड ह्वाट ? प्लिज टेल मी, आई एम सो क्युरियस ।’
‘मामु, आई एम इन लभ । योर्स स्विट डटर इज इन लभ मामु ।’
‘रियल्ली ? आई एम सो ह्याप्पी डियर । मेरी छोरी पनि अब ठुली भइछ ।’
‘ही इज सो नाइस, कियरिङ, लभेबल पर्सन ।’
‘गुड कहिलेदेखि हो नि मेरी छोरी प्रेममा परेकी ? म तिम्रो आमा मात्र नभएर आई एम योर बेस्ट फ्रेन्ड टु डियर । यु डन्ट निड टु हाइड एनिथिङ । यु क्यान सेयर मी ह्वाटेभर यु लाइक ।’
‘एस, आई नो मम । यु आर द स्विटेस्ट मम इन द वल्र्ड । आई लभ यु सो मच मामु ।’
‘लभ यु टु डियर । मलाई अब हुनेवाला ज्वाइँको फोटो देखाउँदैनौँ त ?’
‘अफकोर्स मामु अब फोटो होइन कि मान्छेसँग नै भेटाउँछु नि ! मामु एउटा कुराचाहिँ हजुरसँग लुकाएको थिएँ मैले । त्यो के भने ऊ मभन्दा एजले सिनियर छ ! बट, मामु हिइज सो डिफ्रेन्ट । हजुरले भेटुनभयो भने यु विल प्राउड अफ मि ।’
‘मलाई थाहा छ । तिम्रो च्वाइस कहिल्यै मिस्टेक हुने छैन भन्ने ।’
‘मामु, हामी दुई वर्षदेखि लिभिङ टुगेदरमा छौँ । मैले उसको सबै बुझेर नै ऊसँग विवाह गर्ने डिसिजन लिएको छु । अब हजुरले यहाँ आएर ओके भनेपछि मात्र म विवाह गर्नेछु ।’
‘तिम्रो निर्णयप्रति मलाई पूर्ण विश्वास छ छोरी । त्यही पनि तिम्रो चाहना छ भने आई विल कम ।’
‘थ्याङ्क यु सो मच मामु । लभ यु सो मच ।’
‘लभ यु टू । मिस यु अलट ।’
समय भागेको थाहा नहुने रहेछ । मोडमोडमा जीवनका गतिहरू दौडिँदै गएको थाहा हुँदैन रहेछ । प्रत्येक क्षण अनुहारमा पर्दै गएको चाउरिपनाको ख्याल नै नगरिँदो रहेछ । आज छोरी आफैँले आफ्नो जीवनसाथी खोज्न सक्ने सक्षम भई पनि सकिछे । भगवान् मेरो जस्तो दुःखचाहिँ उसले कहिल्यै भोग्न र देख्न नपरोस् । हुनेवाला लोग्नेबाट सधैँसधैँ माया पाइराखेस् ।
‘मामु, मैले टिकेटको आइटेनेरी मेल गरिदिएको छु । हजुरलाई लिन हामी दुईजना नै एयरपोर्टमा आउँछौँ । हुनेवाला ज्वाइँलाई त्यही नै भेट्नुहोला ।’ छोरीको मेसेज आउँछ ।
मान्छेको सम्बन्ध पनि कस्तो अचम्म । छोरीले नभनुन्जेलसम्म कोको थियो भने आज हुनेवाला ज्वाइँ भन्नेबित्तिकै कति प्यारो र माया लाग्ने । प्लेनको झ्यालबाट हेर्छु । बाहिर छोरीज्वाइँ मलाई नै कुरिराखेका होलान् । छोरीभन्दा पनि ज्वाइँलाई हेर्न आतुर छु म । मेरो हुनेवाला ज्वाइँ ।
‘मामु’ भन्दै छोरीले पछाडिबाट आउँछे । म पछाडि फर्कन्छु ।
‘तिमी’ अनायासै म चिच्याउन पुग्छु । छोरीसँगै उभिएको केटाको हातबाट मलाई दिन ल्याएको फूलको बुके फ्यात्त भुइँमा खस्छ । मेरा खुट्टा लड्खडाएर लड्न खोज्छु र ऊ मलाई सहारा दिएर उठाउँछ ।
त्यतिन्जेलसम्ममा छोरीलाई बुझ्न गाह्रो हुँदैन कि विगत दुई वर्षदेखि एउटै घरमा लोग्नेस्वास्नी बनेर बसेको केटा वास्तवमा को रहेछ भन्ने !