कविताः बाँसको मृत्यु

214

-जानु काम्बाङ्ग लिम्बू

हिजो हुरिसंग हारेर
बाँसले आत्म हत्या गरेछन्
आज उनै बाँसको
पोस्मार्टम भैरहेकोछ हाम्रो आँगनमा ।

बाबाले बाँसको पेट चिर्नु अगाबै
आमाले त्यो मृत्त बाँसको
रौहरू, पातहरू, हाँगाहरू
खौरी रहेकी छिन् ।

अलि पर्तिर टाट्नामा उभिएर
आमाले ताछिरहेको बाँसका
हरिया रौहरू
खान खोजिरहेका छन्
बाख्राहरू ।

टकटक….टकटक बाँस काटेर
बाबा भाग लगाउन थाल्छन्
बालाई अन्दाज भैसक्यो
त्यो मृत्त बाँस बाट एउटा डोको
र तिन ओटा पेरेंगो बन्नेछन् ।

बाँकी बाँसको भित्रास जम्मै
आमाको भागमा परे
तिनलाई बटुल्दै म
आमाको अगेना छेऊ ओसारी रहेछु !

ताप्लेजुङ्ग, हाल: युके