”संविधान संशोधनकालागि केही दिनभित्रै संयन्त्र बन्दै ”

21

काठमाडौं । संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने तयारी भईरहेको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जानकारी दिएका छन् । नेपाली कांग्रेसको १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौँ महानगर पालिका वडा नम्बर ३० को दोस्रो वडा सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारमा सहभागी दुई ठुला राजनीतिक दलहरू संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम सुरु गर्ने बताए । उनले संयन्त्र बनाउँदा सुझबुझपूर्ण बनाइने र सम्हालिएर संविधान संशोधन गर्ने बताए । सबै राजनीतिक दलहरूसँग छलफल गरेर संविधान संशोधन गर्नुपर्ने न्यूनतम कुराहरूको संशोधन हुने बताउँदै उनले संयन्त्रले सुरुमा काँग्रेस र एमालेबिच समझदारी बनाउने र पछि अन्य राजनीतिक दलहरूसँग छलफल गरेर मात्रै सबैको सहमतिअनुसार संविधान संशोधन हुने उल्लेख गरे । महामन्त्री थापाले ०८४ को निर्वाचनमा जाँदै गर्दा ०८१र०८२र०८३ को जिम्मेवारीबाट भाग्न नहुने बताए । उनले यो अवधिमा आफूले गरेका कामहरूको फेहरिस्त बोकेर जनतासँग जानसक्ने हैसियत बनाउनुपर्ने बताए ।

अहिलेसम्म निर्वाचन भन्दा अगाडिको अवधिको जिम्मा लिने कुनैपनि राजनीतिक दल, शक्ति व्यक्ति नरहेको भन्दै अब जिम्मेवारी लिनेगरी मात्रै जनतामाझ जानुपर्ने अवस्थाको शुरुवात गर्न आवश्यक भएको बताए । नेपाली कांग्रेस र नेकपा एमालेको अहिलेको सरकारलाई अवसरका रुपमा लिएर आगामी निर्वाचनमा कांग्रेसले आफूले गरेका कामहरुबाट जनतालाई प्रभावित बनाइ निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने बताए ।
थापाले एमाले र कांग्रेसले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी, मधसवादी राजनीतिक दलहरुसँगको समझदारीबाट संशोधन गर्ने बताए । सांसदलाई समावेशी बनाउने, मन्त्रीपरिषद्लाई समावेशी बनाउने र एउटा कार्यकाल एउटै राजनीतिक दलले देशको नेतृत्व गर्नसक्ने गरीकन संविधान संशोधन गर्ने उनले बताए ।