Friday, September 25, 2026
Home समाचार पहिरो जादाँ राजमार्ग बन्द

पहिरो जादाँ राजमार्ग बन्द

208

भदौं २५,
रसुवा । धुन्चेको त्रिशूली नदीनजिक खोपाङ भिरमा पहिरो जाँदा आज साँझदेखि धुन्चे–रसुवागढी राजमार्गको सिधासम्पर्क टुटेको छ ।
करीब ३० मिटर दूरी सडकमा पहाडका ठूलाठूला ढुङ्गाले सडक अवरुद्ध भई पहिरो स्थलमा स–साना ढुङ्गा झर्ने कार्य जारी भएकाले आज रातभरिका लागि आवतजावतमा समेत रोक लगाइएको निमित्त जिल्ला प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले बताउनुभयो । ठूलाठूला ढुङ्गा झरेका कारण पहिरो खोली राजमार्ग सुचारु गर्न तीन÷चार दिन लाग्ने अनुमान गरिएको सडक कार्यालयका डोजर अपरेटर राजेश दाहालले जानकारी दिनुभयो । अहिले साँझ ६ बजे खसेको ढुङ्गा विस्फोटन गराएर मात्र राजमार्ग खोल्न सकिने प्राविधिकहरुले बताएका छन् । बिरामी लिई चिलिमेबाट धुन्चे अस्पताल आएको एम्बुलेन्ससमेत परिरोका कारण रोकिएको छ । केरुङबाट सामान लिन आएका करीब ५०० कन्टेनर भन्सारबाट छुट्ने क्रममा रहेको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताउनुभयो । रासस