नेपालमा दैनिक १२ जनाले आत्महत्या गर्दछन्

155
सांकेतिक तस्विर

भदौं २५,
काठमाडौं । नेपालमा प्रत्येक वर्ष आत्महत्या गर्नेको सङ्ख्या १३ प्रतिशतका दरले वृद्धि हुँदै गइरहेको छ । आत्महत्या गर्ने देशहरूको सूचीमा नेपाल विश्वको दशौँ स्थानमा पर्दै आएको छ । प्रहरीको रिपोर्टलाई आधार मान्ने हो भने एक वर्षमा ५ हजारभन्दा धेरै नेपालीले आत्महत्या गर्ने गरेका छन् । २०७४/०७५ मा प्रहरीमा आएको रिपोर्टअनुसार ५ हजार ३ सय ४६ जनाले आत्महत्या गरेका छन् । तर प्रहरी समक्ष नआएको सङ्ख्या योभन्दा पनि धेरै हुनसक्छ । यो सङ्ख्या अघिल्लो वर्षको भन्दा केही बढी नै रहेको बुझिएको छ । विगत ५ वर्षदेखि नेपालमा आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गइरहेको छ । प्रत्येक वर्ष आत्महत्या गर्नेको सङ्ख्यामा कम्तीमा पनि १३ प्रतिशत वृद्धि भएको देखिन्छ ।

नेपालमा हुने कुल आत्महत्यामध्ये ९० देखि ९५ प्रतिशत मानसिक रोगका कारणले हुनेगरेको पाइन्छ । त्यसमध्ये ८० प्रतिशतले डिप्रेसनको कारणले आत्महत्या गरेको पाइन्छ । कडा खालको मानसिक समस्याले ५ प्रतिशत, बुढेसकालमा हुने अल्जाइमर्स ९विर्सने० समस्याले ५ प्रतिशत र जाँडरक्सी, ड्रग्स खाने र विभिन्न कारणले आत्महत्या गर्दै आइरहेका छन् । यस्तै महिलाको कुरा गर्ने हो भने प्रजनन् उमेरका १५ देखि ४५ वर्षसम्मका महिलाको मृत्युको पहिलो कारण आत्महत्या मानिदै आइरहेको छ । विश्वमा आत्महत्या गर्नेको उमेरलाई हेर्ने हो भने १५ देखि २९ वर्षसम्मका किशोर किशोरीको मृत्युको दोस्रो कारण मानिदै आएको छ । यसैले विश्वभरी नै आत्महत्याले डरलाग्दो रूप लिँदै आएको छ । विश्वको कुल तथ्याङ्क हेर्ने हो भने एक वर्षमा ८ लाखले आत्महत्या गर्छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यो सङ्ख्या बढेर सन् २०२० सम्ममा १५ लाख पुग्नेछ । परिवारका सदस्यले यस्ता व्यक्तिलाई धेरै सहयोग गर्नुपर्ने हुन्छ । डिप्रेसन भएको बेलामा एक्लोपनको महसुस गर्छन् । समस्या समाधान गर्न मद्दत गर्नुपर्दछ । मनोवैज्ञानिक समस्या धेरै नै भएको खण्डमा अस्पताल लानुपर्छ । डब्लूएचओले यो वर्ष ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ भन्ने नाराका राखेको छ । हामीले पनि डिप्रेसनको समस्यामा परेका व्यक्तिलाई साथ दिनु एकदमै जरुरी छ । राष्ट्र, समाज, घरपरिवार, सङ्घ, संस्था सबैको सहयोग भएको खण्डमा आत्महत्याको सङ्ख्यालाई कम गर्न सकिन्छ । शून्य अवस्थामै ल्याउन नसकिएला तर न्यूनीकरण गर्न पक्कै सकिन्छ । मानसिक रोगसम्बन्धी जानकारी दिनुपर्छ ।