साउदीको जेलमा परेका श्रीमान्‌को रिहाइको माग

153

कान्तिपुर दैनिक- वैशाख १८,
गोरखा — मजदुर दिवस मनाइरहँदा मंगलबार यहाँ एक महिलाले रोजगारीका लागि विदेश गएर जेलमा परेका श्रीमान्‌को उद्धारका लागि सहयोग गरिदिन आग्रह गरेकी छन् । भीमसेन थापा गाउँपालिका-७ वोर्लाङका कुमार रानामगर सेप्टेम्वर २०१७ देखि प्रहरी हिरासत र जनावरी २०१८ देखि साउदी अरबको अफिम सेन्ट्रल जेलमा छन् ।
साउदीको खालिद एसअल कम्पनीमा हेल्पर काम गर्दै आएका मगरले सवारीचालक अनुमतिपत्र बिनै चलाएको गाडी २४ अप्रील २०१६ मा दुर्घटना हुँदा साउदी नागरिक खालिद अल गताइवी घाइते भएका थिए । दुर्घटनामा घाइते भएका ओताइवीले क्षतिपूर्ति माग गर्दै ९दिया रकम ब्लडमनि० अदालत समक्ष २०१६ डिसेम्वर १९ मा मुद्दा दर्ता गरे । अफिम जनरल कोर्टले २०१७ अप्रिल १७ मा कुमारले २ लाख ९४ हजार साउदी रियाल ९नेपाली ८३ लाख रुपैयाँ० घाइते ब्याक्तिलाई क्षतिपूर्ति दिनुपर्ने फैसला सुनायो ।
क्षतिपूर्ति तिर्नुपर्ने अवधि सकिँदासम्म तिर्न नसकेपछि पक्राउ गरिएका उनलाई जेलमा राखिएको छ । ‘कमाउन गएको श्रीमान जेलमा हुनुहुन्छ, उल्टो उहाँलाई निकाल्न तेत्रो पैसा लाग्छ रे,’ रूँदै श्रीमती अम्बिकाले भनिन्, ‘मेरो पतिको तर्फबाट कुनै वकिल नराखी, भाषा अनुवादसमेत नगरी एकोहोरो रुपमा अदालतले ब्लडमनि तिर्नुपर्ने र नतिरेसम्म आजीवन जेल बस्नुपर्ने कागजमा सही गर्न लगाएछ ।’ विदेशको ठाउँमा आफ्नो श्रीमानलाई फसाएको उनको आरोप छ । कम्पनीका मालिक सुलेमान खालिद अलहाजिरीले जबर्जस्ती गाडी चलाउन लगाउँदा दुर्घटना भएको श्रीमानले टेलिफोनमा बताएको उनले सुनाइन् ।