नेटवर्किङ व्यापारको नाममा ठग्ने दुई विदेशी पक्राउ

225

चैत १२,
काठमाडौँ । अनलाइन नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने दुई विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने भारतका तरसेम शर्मा र बंगलादेशका राहत हसन राणालाई चैत ७ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
शर्मा र राणाले फोरक्स अनलाइन मनी मार्केट कम्पनीमा रहेको वेस्टर्न एफएक्स कम्पनीको नेपाली एजेण्ट भएको भन्दै ठगी गरेको अनुसन्धानमा खुल्न आएको परिसरका प्रवक्ता मोहन थापाले जानकारी दिनुभयो । शर्मा र राणाले चार पाँच महिना अगाडि नेपाल प्रवेश गरेर कम्पनीमा लगानी गरे २० देखि ६० प्रतिशतसम्म फाइदा हुन्छ भन्दै ठगी गरेका थिए । उनीहरुबाट २० जनाभन्दा बढी व्यक्ति ठगिएको अनुसन्धानमा खुल्न आएको प्रवक्ता थापाले बताउनुभयो । रासस