नेपाल प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सुरु

6

काठमाडौं । नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अप्रेशन सञ्चालनमा ल्याएको छ। सो अप्रेशनअन्तर्गत खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय–प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनस्थापना, ‘डिएनए प्रोफाइलिङ’ एवं ट्राफिक व्यवस्थापनलगायत विषयलाई उच्च प्राथमिकता दिइएको छ। यस कार्यक्रमलाई सफल बनाउन प्रहरी हेडक्वार्टमा सञ्चालित ‘नेपाल प्रहरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’मार्फत सम्बन्धित बाढी प्रभावित जिल्लालाई आवश्यक निर्देशन दिइएको छ।

बाढीका कारण भोटेकोशी र त्रिशूलीका तटीय क्षेत्रका विभिन्न स्थानमा बगाइ वा हराइ रहेका मानिस जीवित हुनसक्ने सम्भावनालाई उच्च प्राथमिकतामा राखेर उद्धार तथा खोजी गर्न मातहतका युनिटलाई भनिएको छ। फेला परेका शव वा शरीरका अङ्गका मुचुल्कालगायत कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न, प्रभावित क्षेत्रमा नागरिकका धनमाल, नगद, सुनचाँदी, बैङ्क कार्ड तथा महत्त्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात फेला परेको अवस्थामा सम्बन्धित धनीलाई हस्तान्तरण गर्न आग्रह गरिएको छ।