काठमाडौ । शनिबार मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको फाइनल खेलमा युएईलाई ४४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको छ। एसिसी प्रिमियर कपमा युएईलाई पराजित गर्दै उपाधि जितेपछि अर्को वर्ष हुने एसिया कपमा नेपालले आफ्नो स्थान सुरक्षित गरेको हो। नेपालले दिएको ३१४ रनको फराकिलो लक्ष्य पछ्याउने क्रममा युएई ४९.१ ओभरमा अल आउट हुँदा २६९ रनमात्रै बनाउन सक्यो।
नेपालका लागि करण केसीले ३ विकेट लिँदा ललित राजवंशी, दिपेन्द्रसिंह ऐरीले २/२ तथा सन्दीप लामिछाने, रोहित पौडैल र गुल्सन झाले एक/एक विकेट लिए।युएईका ललित चोपराले शतक पूरा गरे पनि जितका लागि पर्याप्त भएन। उनले १०५ बल खेलेर ३ चौका र ४ छक्का प्रहार गरी १०० रन बनाएका थिए। शोहेब खानले ५७ बलमा ५२ रन, तानिश सुरीले २८ बलमा ४२ रन र कप्तान हरप्रित सिंहले ४१ बलमा ३३ रन बनाए। पहिले ब्याटिङ गरेको नेपालले आशिफ शेखको शतक र गुल्सन झाको अर्धशतकमा ३१३ रन बनाएको थियो














