भोटेकोशी र त्रिशूली किनारमा पूनः बस्ती बसाल्नु हुँदैन

21

भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवामा आएको बाढीपछी पुनर्स्थापना गर्दा भोटेकोशी र त्रिशूली नदीको दायाँ–बायाँ क्षेत्रमा पुनः बस्ती बसाल्न नहुने बताएका छन्। शनिबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापाले भोटेकोशी र त्रिशूली नदी किनारका क्षेत्र अझै जोखिमपूर्ण रहेकाले पुनर्स्थापनाको काम दीर्घकालीन सोचका साथ अघि बढाउनुपर्ने बताएका हुन्।

उनले भने, ‘भोटेकोशी र त्रिशूली नदीका दायाँ–बायाँ अब बस्ती बसाल्नु उपयुक्त छैन। प्रभावित क्षेत्रका नागरिकका लागि उक्त क्षेत्र अझै जोखिमपूर्ण रहेकाले स्थानीय तहहरूले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको छ। हामीले नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेका छौँ भने रसुवाका लागि जग्गा हेरिरहेका छौँ।’ मुख्यमन्त्री थापाले आफू मुख्यमन्त्री बनेपछि बाढी तथा विपद् प्रभावित नागरिकका लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेको पनि बताए। उनले तत्कालीन राहतसँगै प्रभावित नागरिकलाई दीर्घकालीन रूपमा सुरक्षित स्थानमा पुनर्स्थापना गर्न प्रदेश सरकार केन्द्रित रहेको स्पष्ट पारे।