आज साउने संक्रान्ती पर्व, लुतो फ्याक्ने कार्य गरिने

3

काठमाडौं । विक्रम सम्बतको पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने सङ्क्रान्ति भनिन्छ। ज्योतिष शास्त्र अनुसार सौरमासका हिसाबले साउने सङ्क्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट सङ्क्रान्ति’ पनि भनिएको हो। सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने सङ्क्रान्ति) र मकर राशि (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्व पूर्ण मानिन्छ।

यो दिन देखि सूर्य उत्तरी गोलार्द्धबाट दक्षिणि गोलार्द्ध तर्फ प्रवेश गर्ने भएकोले दिनपछि छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ। यद्यपि प्रत्यक्ष सूर्योदय र सूर्यास्तका बीचको समयलाई दिनमान भनिन्छ। सबैभन्दा छोटो दिनबाट उत्तरायण र लामो दिनमान हुने दिनबाट दक्षिणायन शुरु हुनेकुरा विज्ञान सम्मत र शास्त्र सम्मत पनि कुरा हो। यसरी हेर्दा वर्तमान चलन चल्तीको असार ७ गतेबाट दिनछोटो हुँदै जाने र पुष ७ गतेबाट दिन लामो हुँदै जाने कुरा प्रमाणित हुन्छ। साउन महिनाले नेपाली खास गरी हिन्दु धर्मसँग सम्बन्धित परम्पराका चाडहरूलाई भित्र्याउने भनाइ छ। नेपालभर स्नान, दान, होम, श्राद्धजस्ता विशेष कार्यको सुरूवात यहि दिन देखि गरिन्छ। हिन्दु धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दु धर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ।

साउने सङ्क्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ। फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिरा जस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ। विवाहित महिलाहरू साउने सङ्क्रान्ति देखि साउन महिनाभर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्दछन्।

साउने संक्रान्तिका प्रमुख विशेषताहरू:लुतो फाल्ने: साँझपख कुकुरडाइँलो, निबुवा, कागती, र कोलको आगो बालेर ‘लुतो फाल्यौँ’ भन्दै चौबाटोमा फाल्ने गरिन्छ। यसले शरीरका रोगहरू टाढा हुन्छन् भन्ने विश्वास छ।हरियो चुरा र मेहदी: साउन महिनामा महिलाहरू हरियो, पहेँलो चुरा र हातमा मेहदी लगाएर सजिन्छन्। भगवान शिवको पूजा: साउनको सोमबार भगवान शिवको विशेष पूजा गरिन्छ। यस दिन ब्रत बस्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।