चाँगुनारायणको आकाशमा १५ दिन देखिनेछ यस्तो वस्तु, भिडियो सहित

3316

बैशाख १३,
भक्तपुर । चाँगुनारायण नगरपालिकाको आकाशमा करिब १५ दिन हवाई जहाज जस्तै देखिने वस्तु घुमिरहेको देखिनेछ । नगरक्षेत्रको मुख्य बस्ती एवं सडकहरुको ड्रोनबाट सर्वेक्षण एवं नक्साकंनको कार्य भईरहेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिएका छन् । यस नगरपालिकाका केही क्षेत्रहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसँगको हवाईमार्ग पर्ने र सडकहरुमा हुने सवारी चापको कारण अन्य समयमा यस कार्य क्षेत्रमा निकै चुनौतिपूर्ण हुने भएकोले मुलुकमा भईरहेको लकडाउनको बाबजुत पनि सर्वेक्षण एवं नक्साकंन कार्य गरिएको नगरप्रमुख मिश्रले जानकारी दिएका छन् ।

काठमाडौँ उपत्यका सबै स्थानीय तहहरुमा ड्रोन सर्वे एवं नक्साकंन गर्ने उद्देश्य राखेको यस परियोजनको पहिलो र परिक्षण सर्वे चाँगुनारायण नगरपालिकामा गर्न लागिएको नगरपालिको भनाई छ । यस परियोजनाको लागि राज्यका अन्य निकायहरुसँगको आवश्यक समन्वय एवं स्विकृती नगरपालिकाले प्राप्त गरिसकेको छ । यस परियोजनामा विभिन्न संघ संस्थाहरुले निशुल्क रुपममा सहयोग गरेका समेत नगरपालिकाले जानकारी दिएको छ । आफ्नो घर आँगन, खेत, बारी एवं अन्य क्षेत्रमाथि देखिने ड्रोन यन्त्रहरुलाई नगरपालिकाको परियोजना अन्तरगत उडान भईरहेको रुपमा लिई सहजता अपनाउनुहुन सम्पूर्ण नगरबासीमा नगरप्रमुख मिश्रले अनुरोध गरेका छन् ।