विदेश जान लागेका बालक भन्दै भावुक पोस्ट

2

सामाजिक सञ्जालमा यतिबेला विदेश जान लागेका एक व्यक्तिको तस्वीर भाइरल बनिरहेको छ । कलिलो उमेरमै रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता आइपरेको दाबीसहितका भावुक पोस्टहरू अनगिन्ती भेटिन्छन् । एक वृद्धले १३–१४ वर्षजस्तो देखिने एक युवकलाई माला लगाइरहेका छन् । पृष्ठभूमिमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल देखिएकाले उनी विदेश जाँदैछन् भन्ने कुरामा कुनै दुविधा रहँदैन ।सामाजिक सञ्जालमा फोटो निकै फैलियो । घरको बाध्यताले गर्दा नागरिकतामा उमेर बढाएर विदेश हिँडेको अनुमान धेरैले लगाए । कतिपयले भने उक्त फोटो एआई निर्मित हो पनि भनिरहेका छन् ।उक्त पोस्टमा पारिवारिक बाध्यताका कारण सानै उमेरमा ती युवा मलेसिया जान बाध्य भएको दाबी गरिएको छ । पोस्टमा लेखिएको छ, ‘मलेसिया जान लागेको पारिवारिक आर्थिक बाध्यताले यति कलिलो उमेरमा जिम्मेवारीको यत्रो ठूलो पहाड’

सोही पेजले उनको उमेर १३ देखि १६ वर्षको मात्रै रहेको दाबी गरेको छ । खेल्ने र पढ्ने उमेरमा परिवारको पेट पाल्न मलेसिया जान बाध्य भएको जिकिर गरिएको छ । त्यस पेजबाट पोस्ट गरिएको उनको फोटो धेरै मधुरो हुन्छ । त्यसमाथि फोटोको गुणस्तर बढाएर पुन: फोटो पोस्ट गरिएको जस्तो देखिएकाले फोटो नियमित जस्तो देखिँदैन । त्यसमाथि ती व्यक्ति साँच्चै नै कम उमेरका र सोझा देखिन्छन् । यसले गर्दा एआई निर्मित तस्वीर हो कि भनेर सुरुमा अनलाइखबरले हाइभ मोडेरेसन, सिन्थ एआई, डिप एआई लगायत टुल प्रयोग गरेर जाँच्यो । सो क्रममा ती टुल्सहरूले फोटो एआई निर्मित नभएको संकेत गर्‍यो ।

अन्य सामाजिक सञ्जालहरूमा पनि यो फोटो प्रयोग गरी उही प्रकृतिहरूका भावुक पोस्टहरू गरिएको देखिन थाले। त्यसपछि हामीले यस विषयमा थप खोज्न थाल्यौं । सोही क्रममा केही फेसबुक पेज तथा प्रयोगकर्ताहरूले ती युवाको नाम सुनील कुमार यादव रहेको र उनको उमेर २३ वर्ष भएको उल्लेख गरेको पाइयो । गत निर्वाचनमा म्यादी प्रहरीको रूपमा काम गरेको र उनले कक्षा १२ सम्मको अध्ययन गरेको समेत फेसबुक पोस्टहरू भेटियो ।