ओलीले राजीनामा दिनुपर्ने प्रचण्ड–नेपालको अडान

169
फाइल तस्बिर

साउन १,
काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीचको त्रिपक्षीय छलफल बिनानिष्कर्ष सकिएको छ । बैठकमा प्रचण्ड र नेपालले ओलीले राजीनामा दिनैपर्ने पूर्ववत अडान दोहोर्याएपछि बैठक निष्कर्षबिहीन बनेको स्रोतले जनाएको छ ।
बैठकमा प्रचण्ड र नेपालले राजीनामाको विषय अघि सारेपनि ओलीले कुनैपनि हालतमा राजीनामा नदिने बताएका थिए । करिब साढे २ घण्टा चलेको बैठकमा आ–आफ्नै अडान कायम भएपछि बैठक त्यसै सकिएको थियो । यसअघि विवाद समाधानका लागि ओली र प्रचण्डबीच छलफल हुँदै आएकोमा आजको बैठकमा नेपाल पनि सहभागी रहेका हुन् ।

बुधबार समेत करिव ३ घण्टा ओली प्रचण्डबीच वार्ता भएपनि कुनै सहमति जुट्न सकेको थिएन । शुक्रबार बस्ने स्थायी समिति बैठकअघि सहमतिको बिन्दु पहिल्याउन ओली र प्रचण्डबीच भएका यसअघिका वार्तामा ओलीले राजीनामा नदिने अडान राखेपछि सहमति जुट्न सकेको छैन । गत असार १६ गतेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले दुवै पदबाट ओलीलाई राजीनामा दिन सुझाव दिएपनि उनी आफूले राजीनामा नदिने बताउँदै आएका छन् ।

अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले पार्टी र सरकार सञ्चालनमा ओली असफल भएकाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने पक्षमा छन् । नेताहरुबीच पार्टी एकताअघिको २०७५ जेठ २ मा भएको सहमति अनुसार अघि बढ्ने कि २०७७ मंसिर ५ को सहमतिअनुसार अघि बढ्ने भन्नेमा मतभेद छ । प्रचण्डसहतिका नेताहरु जेठ २ को सहमतिअनुसार ओलीले राजीनामा दिनुपर्ने पक्षमा छन् भने ओली मंसिर ५ को सहमति अनुसार नै अघि बढ्नुपर्ने बताउँदै आएका छन् ।

जेठ २ मा ५ वर्षे कार्यकालमा आधाआधा समय ओली र प्रचण्डले सरकारको नेतृत्व गर्ने सहमति छ भने मंसिरमा पुरै समय ओलीले सरकारको नेतृत्व गर्ने र पार्टीको एकता महाधिवेसनसम्म प्रचण्डले पार्टी नेतृत्व गर्ने सहमति भएको थियो ।