अपाङ्गतामैत्री फुटपाथ व्यवस्थापनका लागि प्रदर्शनी

8

काठमाडौँ : अपाङ्गता भएका व्यक्तिको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा हेटौँडामा अपाङ्गता मैत्री फुटपाथ व्यवस्थापनसम्बन्धी प्रदर्शनी गरिएको छ। बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको समन्वयमा बुधबार कार्यक्रम गरिएको हो। अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षित, सहज र स्वतन्त्र आवागमन सुनिश्चित गर्ने उद्देश्यका साथ आयोजित प्रदर्शनीमार्फत शहरका फुटपाथ, क्रसिङ, बसपार्क, सरकारी कार्यालय परिसर तथा स्वास्थ्य संस्थाहरूको वरपरका मार्गहरूमा पूर्वाधार कसरी व्यावहारिकरूपमा निर्माण तथा व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा प्रत्यक्ष अवलोकन गराइयो।

प्रदर्शनीमा प्रवेशद्वार, समतल तथा अवरोधरहित मार्ग, ह्वीलचेयर पहुँचयोग्य फुटपाथ लगायतका संरचना कसरी डिजाइन, निर्माण र व्यवस्थापन गर्नुपर्छ भन्ने विषयमा सरोकारवाला निकाय, सरकारी कर्मचारी, प्राविधिक तथा सर्वसाधारणलाई जानकारी दिइयो।
त्यस्तै सामाजिक विकास मन्त्रालयका निमित्त सचिव अमृत अधिकारीले शहरी पूर्वाधार निर्माण अब ‘अपाङ्गता मैत्री’ अवधारणालाई अनिवार्य रूपमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्दै, यस्तो कार्यक्रमले वास्तविक आवश्यकताबारे नीतिनिर्मातालाई थप स्पष्टता प्रदान गरेको बताए।