पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरूमा कार्यकर्ताहरू आफ्ना झोले मात्रै बनुन् भन्ने परम्परावादी र सामन्ती सोच कायम रहेको बताएका छन्। शनिबार सिंहदरबारमा पूर्वसांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौती र समाधान विषयक एक दिने अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई नेपालको नागरिक, नेपालको नेता, नेपालको कार्यकर्ताको हैसियतबाट प्रस्तुत हुने एउटा परम्परा र संस्कृति सिकाउन जरूरी रहेको बताए।
उनले पुरानो र सामन्ती शैलीलाई छोडेर यथार्थमा समतावादी, प्रजातन्त्रवादी सोच ल्याउन जरूरी रहेको बताए।
पूर्वसभामुख रानाभाटले भने, ‘मुलुकको आर्थिक, सामाजिक विकासका निम्ति काम गर्ने र साम्प्रदायिक सद्भाव, क्षेत्रीय आधारमा आफूलाई प्रस्तुत गर्ने होइन। नेपालको नागरिक, नेपालको नेता, नेपालको कार्यकर्ताको हैसियतबाट प्रस्तुत हुने एउटा परम्परा र संस्कृति राजनीतिक पार्टीहरूले आफ्ना कार्यकर्तालाई सिकाऊन्। कार्यकर्ता आफ्ना झोले मात्रै बनून् भन्ने जुन परम्परावादी, सामन्ती सोच हाम्रा पार्टीहरूमा छ। अहिले पनि छ। दुःखका साथ भन्नुपर्छ। म पनि त्यही पार्टीको ज्यादै जिम्मेवार तहमा बसेर सेवा गरेको मान्छे छु। त्यसैले हामी यो पुरानो शैलीलाई, सामन्ती शैलीलाई चटक्क छोडेर यथार्थमा समतावादी, प्रजातन्त्रवादी सोचबाट प्राथमिकताका प्रश्नलाई खोज्नुपर्छ।’पूर्वसभामुख रानाभाटले नेपालका राजनीतिक दलहरू मुलुक र जनताप्रति भन्दा विदेशी शक्ति र उनीहरूको ऋणसँग बढी झुकेको बताए। उनले यसलाई मेटाउन सक्नुपर्ने बताए। उनले आफ्नो स्वार्थभन्दा माथि उठेर राष्ट्रलाई बाटो देखाउनका निम्ति काम गर्नुपर्ने बताए।