नाक, कान, घाँटीको क्यान्सरअन्तर्गत नेपालको सन्दर्भमा हेर्ने हो भने मुखमा, जिब्रोमा, गालामा, ओठमा हुने क्यान्सरका बिरामी हामीले भेटिरहेका छौं। त्यस्तै थाइराइडमा, आवाज निकाल्ने यन्त्रमा र नाकमा क्यान्सर हुन्छ। प्रत्येक अंगमा हुने क्यान्सरको कारण पनि फरक फरक हुन सक्छ। जस्तो मुखको क्यान्सरको कुरा गर्ने हो भने तपाईं/हामीले खाने सुपारी, सुर्ती र रक्सी अनि मुखमा सरसफाइको कमीले यस्तो भइरहेको छ। थाइराइडको क्यान्सर वंशाणुगत कारणले पनि हुन्छ। अहिले हाम्रो देशमा मुखमा पनि गालाको क्यान्सर धेरै हुने गरेको पाइन्छ।
मुखको क्यान्सर हुनुभन्दा पहिला केही लक्षण देखिन्छन्। जस्तो: सुरूमा तपाईंलाई घाउ हुन्छ हराउँछ, निको हुन्छ। तर साधारणतया ७ दिनदेखि २ हप्तासम्म निको हुँदैन भने विशेषज्ञकहाँ देखाउन पर्छ। यस्तो अवस्थामा तपाईंले पिरो खुर्सानी अलिकति पनि खान सक्नुहुन्न। त्यस्तै मुखभित्र सेता र राता धब्बा देखिन्छ। अथवा त्यहाँ काँडा जस्तो देखिन्छ। अनि तातो, पिरो खाँदा सहन नसक्ने हुन्छ।अलिकति पनि तातो खाना खान सकिँदैन। यसको कारण चुरोट, सुर्ती, सुपारी, चुना लगायतका पदार्थहरू हुन्। मैले क्यान्सरको क्षेत्रमा काम गरेको २१ वर्ष भयो। मेरो सुरूआती करिअरको बेला ६० वर्ष कटेकालाई धेरै क्यान्सर हुन्थ्यो। तर अहिले २२ वर्षकै उमेरमा क्यान्सर भएकाहरू भेटिन थालेका छन्। २२ वर्षदेखि ९० वर्षसम्मको उमेरमै क्यान्सर भएको देखिन थालेको छ। भोला, सुर्ती जस्ता अम्मलका खाएर यस्तो भयो। २२ वर्षमै क्यान्सर देखिएको बिरामीले १२/१३ वर्षदेखि खाएको भोला, सुर्ती खाएको रहेछ। अरू वंशाणुगत कारण पनि हुनसक्छ तर त्यो हामीले हेरेनौं।