आफ्नै पार्टीका नेताले लगाए बागमती प्रदेशका मन्त्री माथी गम्भिर आरोप

151

मंसिर ८,
भक्तपुर । भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ को गएराती सम्पन्न नेपाली कांग्रेसको
अधिवेशनको मत गणना परिणामपछि विवाद सिर्जना भएको छ । पार्टीका जिल्ला सभापति दुर्लभ थापा र बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भँडेले मतपत्र नै साटेको आरोप तरुण दलका पूर्व केन्द्रिय अध्यक्ष विनोद कायस्थले लगाएका छन् । भक्तपुर क्षेत्र नम्बर १ को अधिवेशनमा मतगणनाको विषयलाई लिएर विवाद भएको हो । जिल्ला सभापति थापा र मन्त्री भँडेल केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र कायस्थ वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका हुन् ।
साथै भक्तपुर क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापतिका उम्मेदवार रहेका उद्धव खड्काले मतगणना बहिस्कार गर्दै पुनः मतदानको माग गरेका छन् ।

मंगलबार भएको क्षेत्रीय अधिवेशनपछि मतगणना सुरु हुँदा पार्टी सभापति देउवा पक्षका नेता एवम् बागमती प्रदेशका भौतिक पूर्वाधाधर विकास मन्त्री भँडेलको नेतृत्वमा केही युवाहरुले होहल्ला गरेर मतगणना गर्न नदिएको कायस्थको भनाई छ । हामी कुरा गर्दै कायस्थले भने ‘सक्तको आड्मा भँडेल, चाँगुनारायण प्रदेश सभाका नव निर्वाचित सभापति जयन्द्र खड्का, रविन्द्र प्रधानको गलत कामलाई जिल्ला सभापति दुर्लभ थापाले साथ दिनु भयो ।’ निर्वाचन निर्देशिका बिपरीत जबरजस्ती गर्नु निन्दनीय भएको भन्दै क्षेत्रिय सभापतिका उम्मेदवार खड्का र महाधिवेशन प्रतिनिधि कायस्थले बिज्ञप्ति जारी गर्दै यस कार्यको भत्र्सना गर्दै परिणाम अस्विकार गर्ने बताएका छन् ।
मतगणनास्थलमा होहल्ला ,नाराबाजी र झडप हुने स्थिति सिर्जना भएपछि आफूहरु मंगलबार राति त्यहाँबाट बाहिरिएको कायस्थ बताए ।

पार्टी निर्वाचन निर्देशिका २०७८ को दफा २ (छ) बमोजिम मतगणना गर्दा ब्यबस्थित रुपमा सम्बन्धित उम्मेदवार वा निजको वारेसको रोहबरमा गर्नुपर्छ भन्ने स्पष्ट प्राबधान हुँदाहुँदै मतदान अधिकृतले आफूहरुको कुनै वारेस वा उम्मेदवारको रोहवर नराखी एकपक्षीय ढंगबाट मतगणना गरी निर्वाचन परिणाम घोषणा गरिएकोले मतगणनाको परिणाम बदर गरी पुन मतदान गर्न उनीहरुले माग गरेका छन् ।
मतगणना पुन सुरु गर्ने विषयमा मतदान अधिकृतलाई रातको समयमा विवादका बीच हुन लागेको मतगणना स्थगित गरी बिहान मात्र गणना गर्न अनुरोध गरे पनि माग सम्बोधन नभएको र जिल्ला निर्वाचन अधिकृतलाई सम्पर्क गर्दा सम्पर्क नभएको उनीहरुको भनाई छ ।
यसबारेमा कांग्रेसका जिल्ला पार्टी सभापति दूर्लभ थापाले कायस्थले निर्वाचन हारेपछि नेताहरुलाई काम देखाउन पत्रकार सम्मेलन गरेको आरोप लगाए । समस्या खास के हो भन्ने हाम्रो जिज्ञासामा सभापति थापाले भने ‘यहाँ कुनै बिवाद छैन हारेका अरुको आरोप मात्र हो ।’

कांग्रेसले दिएको जानकारी अनुसार १ न. क्षेत्रको सभापतिमा जीवन खत्री र २५ जना महाधिवेशन प्रतिनिधि चुनिएका थिए । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार भक्तपुरमा निर्वाचन क्षेत्रको कार्यसमिति र महाधिवेशन प्रतिनिधि छानिएका छन् ।