कविताः नेपालको मुस्कान हेर्न मन छ

25

-विदुरप्रसाद तिमिल्सिना

प्रिया !
एक अँजुली मुस्कान
एक भूगोल सुवास
सुवासित बनेर छर्न
सुन्दर भविष्य कल्पदै
आएको छु तिम्रो समीप ।

हिमशृङ्खलालाई नमन गर्दै
तराईका उर्वरा फाँट
हरिया पहाड काँधमा बोकी
मनभरि शान्तिको सगुन लिएर
समृद्ध नेपालको सपनामा
मदहोसी वसन्त पर्खेर
उन्नत नेपालको बिजन
तिम्रो गर्भमा रोपौँला
अनि कसो नजन्मेला
मदकर नेपालको भविष्य !

आक्रमणको निम्ता दिने
पराईका मोहमा पोषित
पराईकै भाला बोकेर
नेपाल आमाको छातीमा
रोपेर विषवृक्ष फैलाउनेलाई
पछारेर कटाऔँला जङ्गे पिलर
ठड्यौँला मानवताको धरोहर
कोरौँला हाम्रै मसीले
नेपाल आमाको सुन्दर चित्र
विजयोत्सवमा रमौँला
बालेर शान्तिको चिराग
शान्तभावले हेरौँला सङ्गै
माथि टाकुराको पलकबाट
तराई, पहाड, हिमालको
सौम्य, शान्त र विशालताले
भरिएको पूर्ण नेपाल ।

-चाँगुनारायण ८, भक्तपुर