कविताः नवीन दासहरू

-विदुरप्रसाद तिमिल्सिना

सभ्यताका आदिम युगबाटै
सुरु भएका हुन् यी कथा
मानवलाई कहिल्यै मानव नगन्ने
चिल्ला कुरा र भाषणमा रम्ने
दासत्व मोचनको राप अलाप्ने
दासत्वका कथा अब अन्त्यको
झुटको ताण्डव देखाएर
दिगम्बरझैँ जताततै कुर्लनेबाट
पाएनन् मुक्ति मालिकका दलनको ।

छद्मभेषी आवरणमा मालिकहरू
राख्थे दास वेद, पुराण, बाइबलका
परम्परा, संस्कार, संस्कृति भन्दै
अहिले पनि बनाउँदै छन् दास
स्वीकार नगरे तेर्साउँछन् दण्डा
न्यायाधीश आफैँ बनेर गर्छन्
आफूलाई सहज हुने फैसला,
अँध्यारो कालकोठरीमा दिएर पीडा
अनि चलाउँदै छन् राज उनै
हिँड्दै दिगम्बरझैँ जताततै ।

कर्पोरेट हाउस, शैक्षिक संस्था
खरिद गर्दैछन् दास आज
चारोको बल्छी देखाएर
बल्छीमै सबैलाई पार्दैछन् आज
फुत्कन सक्दैन जसरी माछा
नवीन दास सक्दैन उम्कन
दिगम्बर मालिकका पञ्जाबाट ।

दिगम्बरी भएको दिग्भ्रममा
दासहरूको दिग्वारको व्यवस्थापनमा
दिग्गज ठानेर सबैका सामु
दासानुदास मालिक बन्दै
बनाएर बाध्यकारी माखेसाङ्लोले
कमजोरीमाथि खेल खेल्दै
शरीर बन्धकभन्दा अलि छुट्टै
विचारलाई बन्धक बनाएर
सर्ट, पाइन्ट, कोटमा सजाएर
दासत्वलाई मौन स्वीकार गर्ने
क्रमशः नवीन दासहरू यहाँ
उत्पादन हुँदैछन् कारखानाबाट
मूढ, सुकिला नवीनतम्
आधुनिक सुकिला दासहरू ।

चाँगुनारायण-८, भक्तपुर