नेपाल रेडक्रसको आग्रहः मानवीय पत्रकारीतामा जोड दिऔं

10

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले मानवीय पत्रकारीतामा जोड दिन आग्रह गरेको छ । सोसाइटीले आइतबार आफ्नै कार्यालय कालिमाटीमा आयोजना गरेको एक कार्यक्रममा मानवीय संवेदनशील विषयलाई उठाउनुपर्नेमा जोड दिएको हो । संस्थाका महामन्त्री भूपति लाल श्रेष्ठले पत्रकारिता र रेडक्रस दुबैको उद्देश्य कुनै विन्दुमा गएर जोडिने हुँदा सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । साथै, मानवीय पत्रकारीताको अभ्यासका लागि आफूले सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै, संस्थाका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले नेपाल रेडक्रस सोसाइटी अन्तर्गत ुमानवीय पत्रकार च्याम्पियन समूहु नै गठन गरेर जोड मानवीय पत्रकारीताको अभ्यास गर्ने तर्फ लाग्न जोड दिए । कार्यक्रममा च्याम्पियन समूह के आधारमा गठन गर्ने र कसरी सञ्चालन गर्ने भन्नेबारे पत्रकारसँग अन्तरक्रिया गरिएको थियो । छलफलको निस्कर्ष अनुसार नै अगाडि बढ्ने ढकालले बताए ।

संस्थाको मानवीय मूल्य तथा सञ्चार विभाग निर्देशक विपुल न्यौपानेले उद्देश्य र भावी योजनाबारे जानकारी दिँदै हाल अभ्यासमा रहेको पत्रकारिताले केही हदसम्म मान्छेमा त्रास फैलिएका कारण नकारात्मक र अभावका कथा मात्र नलेखेर सकारात्मक साथै सहयोगका कथालाई पनि समेट्न अनुरोध गरे । ुविपद् को बेलामा मृत्यु, घाइतेबारे तथ्यांकको मात्र समाचार बनाउँदा मानिसमा त्रास फैलिन्छ । बरु, यतिको उद्धार, सुरक्षित आदिबारे समाचार बनाउँदा मानिसमा सकारात्मकता फिँजिन्छ ।ु, नेपाल रेडक्रस सोसाइटीका निर्देशक विपुल न्यौपानेले भने । रेडक्रस लगायत अन्य क्षेत्रबाट भएका राहत उद्धार आदिका घटनालाई पनि प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

विपद व्यवस्थापन विभाग निर्देशक सागर श्रेष्ठले पूर्वसूचनाको प्रशारण र प्रकाशनमा विशेष पहल गर्नुपर्नेमा जोड दिए । नेपालमा भूकम्प, बाढी लगायतका प्रकोपको जोखिम सधैंदेखी रहिरहेकाले त्यस्ता जोखिमको पूर्वसूचना पाएमा मानिसहरुमा त्रास नफैलिने तरिकाले सूचना प्रवाह गर्न श्रेष्ठले अनुरोध गरे । साथै, के उपाय अवलम्बन गर्दा सुरक्षित रहन सकिन्छ भन्नेबारेमा पनि जोड दिन उनले अनुरोध गरे

मानव सेवा नै मुख्य लक्ष्य मानेर स्थापना भएको रेडक्रस अन्तर्गतको नेपाल रेडक्रस सोसाइटी ६१ औं वर्षमा पुगेको छ । यहाँसम्म आइपुग्दा संस्थामा ११ लाख भन्दा बढी सदस्य र ९० हजार भन्दा बढी स्वयंसेवक छन् । संस्थाले ७७ वटै जिल्लामा आफ्नो शाखा विस्तार गरेर सेवा प्रवाह गरिरहेको छ ।