Sunday, September 27, 2026
Home राजनीति त्रिभुज परियोजना देशकै महत्वपूर्ण : प्रधानमन्त्री

त्रिभुज परियोजना देशकै महत्वपूर्ण : प्रधानमन्त्री

38

गण्डकी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटका अधिकांश प्रावधान सबै प्रदेशका साझा भए पनि गण्डकीमा महत्वपूर्ण र ऐतिहासिक योजना कार्यान्वयन गर्न लागिएको जानकारी दिएका छन्। नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित पार्टी प्रशिक्षणमा उनले प्रदेशका विकासमा महत्वपूर्ण योगदान पुग्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेट निर्माण भएको बताए। उनले आव २०८१/८२ को बजेटले कृषिको रूपान्तरण, ऊर्जाको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवद्र्धन र उद्यमशीलता र औद्योगिक विकासलाई विशेष प्राथमिकतामा राखेको उनले जानकारी दिए। “भरतपुर, बुटवल र पोखरालाई गण्डकी त्रिभुज परियोजनाको रूपमा विकास गरिनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “यो परियोजना मुलुककै महत्वपूर्ण र ऐतिहासिक हुनेछ।” म्याग्दी, मुस्ताङ, मनाङ र गोरखाको हिमाली क्षेत्रमा कस्तुरी–मृग लगायतका वन्यजन्तुपालन गर्ने व्यावसायिक फार्म स्थापना गर्नेगरी नयाँ सोचका साथ बजेट निर्माण गरिएको उनले बताए। देशकै ‘लोड सेन्टर’मा रहेको एक हजार दुई सय मेगावाटको बूढीगण्डकी आयोजनाको निर्माण सुरु गर्ने र यस परियोजनाले देशकै ऊर्जा क्षेत्रमा दीर्घकालीन फाइदा हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ४२ मेगावाटको मोदी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सुरु गरिने जानकारी दिए।