छात्रालाई साइकल वितरण

27

चितवन । भरतपुर महानगरपालिकाले एक सय २६ छात्रालाई निःशुल्क साइकल वितरण गरेको छ । छात्रासँग मेयर कार्यक्रमअन्तर्गत आइतबार छ वडाका १३ विद्यालयमा अध्ययन गर्ने विपन्न छात्रालाई महानगर प्रमुख रेनु दाहालले साइकल वितरण गर्नुभयो । महानगरपालिकाको सामाजिक विकास महाशाखाका अनुसार महानगरपालिकाले यसअघि २२ वडाका विपन्न छात्रालाई साईकल वितरण गरिसकेको छ । वडा नं २९ को विद्यालयलाई स्कुल बस प्रदान गरेको छ ।

सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख दाहालले महानगरपालिका प्रमुखमा महिला निर्वाचित भएसँगै महिलामैत्री महानगर बनाउन भरतपुर अस्पतालमा महिलालाई निःशुल्क ओपिडी टिकट, छोरी जीवन बीमा, छात्रासँग मेयरजस्ता धेरै कार्यक्रम सञ्चालनमा ल्याईएको बताउनुभयो । महानगरपालिकाले अति विपन्न परिवारका छात्रालाई विद्यालय शिक्षामा पहुँच पु¥याउने उद्देश्यले कक्षा ६ देखि १२ कक्षाका किशोरीलाई साइकल वितरण गर्दै आएको छ ।

महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर पूर्वाधारको क्षेत्रमा मात्र नभई शिक्षा क्षेत्रमा पनि उल्लेख्य प्रगति गर्न सफल भएको बताउनुभयो । भरतपुरका विद्यालयमा आकर्षण बढाउन विभिन्न छात्रावृत्तिका कार्यक्रम, न्यानो कपडाको कार्यक्रम, दिवा खाजा र विद्यालयलाई बसलगायतका कार्यक्रम सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।