मध्यपुर थिमि नगरपालिकाको स्थापना दिवस सम्पन्न

33


भक्तपुर । मध्यपुर थिमि नगरपालिकाको २८ औं स्थापना दिवस विविध कार्यक्रम गरेर मनाएको छ । सो अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । सो अवसरमा नगरपालिकाले प्रकाशन गरेको हाम्रो मध्यपुर थिमि बुलेटिनको विमोचन गर्नुका साथै ई सिफारिसको शुभारम्भ गरिएको थियो
कार्यक्रममा नगरपालिकाले उत्कृष्ट करदाताको रुपमा वडा नं. ३ का किरण बहादुर थापा, उत्कृष्ट उपभोक्ता समिति धपाहिटी परिसर सुधार उपभोक्ता समिति वडा नं. १, उत्कृष्ट सामूदायिक विद्यालय आदर्श मावि सानोथिमि, उत्कृष्ट संस्थागत विद्यालय जनप्रेमी वल्र्ड स्कुल कौशलटार र उत्कृष्ट कर्मचारीको रुपमा राजश्व शाखाका प्रमुख रविन श्रेष्ठलाई सम्मान गरिएको थियो ।

साथै नगरका सडक कालोपत्रे गर्ने कार्यमा समन्वयकारी भूमिका निर्वाह गरी सहयोग गर्नुहुने सूर्यविनायक धुलिखेल सडक आयोजनाका प्रमुख डि.ई. राजेन्द्र दास र ईं गंगारा महर्जनलाई सम्मान गरिएको थियो । यसैगरी उमेर हदका कारण सेवा निवृत्त हुनुभएका महिला स्वास्थ्य स्वयम् सेविकाहरु ५ जनालाई जनही नगद एक लाखसहित सम्मान गरिएको थियो भने एक वर्षको अवधीमा अवकास प्राप्त गरेका कर्मचारीहरु शुभ लक्ष्मी श्रेष्ठ, भवानी काफ्ले, सुन कुमार राउत, हरि लक्ष्मी श्रेष्ठ र गंगाराम धेकेलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो भने जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुहुने बालकराम श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

स्थापना दिवसकै अवसरमा मध्यपुर थिमिले नगरका ज्येष्ठ नागरिकहरु मध्ये प्रत्येक वडाबाट एक जना महिला र एक जना पुरुष गरी १८ जनालाई पनि सम्मान गरेको थियो । कार्यक्रममा दिगुटोलबाट महाकाली नाच, विनायक शिक्षा निकेतनका छात्रछात्राले शास्त्रीय नेवारी नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले गठबन्धन होइन जनताको आश्यकता हेरेर काम गर्नुपर्ने बताए । निर्वाचनमा दलगत रुपमा उम्मेदवार बनेपनि निर्वाचित भएपछि जनताको प्रतिनिधि हुने भएकाले गठबन्धनमा कुन कुन दल छन भन्ने हिसावले नभई जनताको आवश्यकताको आधारमा काम गन पर्दछ, सांसद थापाले भने ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले आफ्नो दुई वर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद, सहकारी, सम्पदा संरक्षणलगायतका क्षेत्रमा गरेका कार्यको विस्तृत विवरण प्रस्तुत गर्दै नगरपालिकामा सुशासन कायम गरी पारदर्शी ढंगले सेवा प्रवाहमा जोड दिएको बताए ।