दाइजोमा जग्गा माग्दै यातनाः युवतीद्वारा आत्महत्या

176

असार २९,
जनकपुरधाम । कोरोना महामारीको बीचमा एक युवतीले विवाह गरेको दुई वर्ष पनि नबित्दै आत्महत्याको बाटो रोज्नुपरेको छ । घरमा दिनहुँ दाइजोमा जग्गा माग्दै विभिन्न किसिमले यातना दिइरहेकै कारणले २२ वर्षीया कल्पना ठाकुरले आत्महत्या गरेको उनको परिवारको आरोप छ । गत मंगलबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित विद्यापती चोकमा रहेको घरमा मृत्त पाइएकी कल्पनालाई आत्महत्या गर्नका लागि पति र सासुले बाध्यात्मक अवस्था सृजना गरेको आरोप उनकी आमा रिङ्की पाण्डेले लगाएकी छन् । छोरीलाई उनको पति र सासुले दाइजोका लागि पटकपटक ब्ल्याकमेलिङ गरेकाले दबाब सहन नसकेर गत असार २३ गते झुण्डिएर आत्महत्या गरेको उनले दाबी गरिन् ।

मृतक कल्पनाकी आमा रिंकी पाण्डेले छोरी कल्पनाको विवाह महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर २ डाम्ही महेशपुरका महेन्द्र ठाकुरको छोरा जितेन्द्र ठाकुरसँग २०७४ सालमा गराएकी थिइन् । विवाहमा ८ लाख रुपैयाँ दाइजो पनि दिइएको थियो । कल्पना केही महिनादेखि माइतमै बस्दै आएकी थिइन् । कोरोनाको कारणले गर्दा सरकारले घोषणा गरेको लकडाउनपूर्व नै छोरी र ज्वाइँ जितेन्द्र ठाकुरबीच जग्गा नामसारीको बिषयलाई लिएर पटक पटक झगडा भइरहेको उनले सम्झिन् । रातोपाटीबाट