एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल

23

काठमाडौं : नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बुधबार (आज) पनि जारी छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा पार्टी नेताहरुले प्रश्तुत गरेका कार्ययोजनामाथि नौ वटा समूह बनाएर छलफल शुरु भएको हो। मंगलबारको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक विश्लेषण, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शुद्धीकरण तथा सुदृढीकरण, उपाध्यक्ष विष्णु पौडेलले पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई समाधान गर्ने र समायानुकूल पार्टी निर्माण गर्ने, महासचिव शंकर पोखरेलले संगठनात्मक कामको समीक्षा र उपमहासचिव प्रदीप ज्ञवालीले जनसरोकार र जनदबाबको खाकासहितको कार्ययोजना प्रश्तुत गरेका थिए। सोही कार्ययोजनामाथि समूहगत रुपमा छलफल शुरु गरिएको हो। एमालेले पुष्पलाल मध्यपहाडी लोकमार्गमा पार्टीले आयोजना गरेको समृद्धिका लागि संकल्प यात्राका क्रममा प्राप्त सुझाव कार्यान्वयनका लागि सरकारलाई बुझाएको छ। सोही सुझावपत्र कार्यान्वयनका लागि बैठकले सरकारलाई दबाब दिने पनि पार्टीका उपमहासचिव ज्ञवालीले बताए। भोलि (बिहीवार) सम्म चल्ने बैठकमा प्रश्तुत कार्ययोजनामाथि छलफल गर्न एमालेले स्थायी कमिटी, सात प्रदेशका सात समूह र उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरु गरी नौ समूह बनाएको छ।