रोल्पा : रोल्पाका दुई विकट गाउँमा बिजुली बलेको छ। सुनछहरी गाउँपालिका–३ र–४ मा राष्ट्रिय प्रसारण प्रणालीबाट बिजुली पुगेको हो। ३३ केजी प्रसारण लाइनमार्फत वितरण उक्त बिजुलीले दुवै गाउँमा गरी १ हजारभन्दा बढी घरमा विद्युत सेवा पुग्ने नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रले जनाएको छ। माओवादी केन्द्रका उप–महासचिव एवं पूर्वऊर्जामन्त्री वर्षमान पुन अनन्तले स्वीच दबाएर विद्युतीकरणको औपचारिक उदघाटन गरे। गाउँमा उज्यालोसँगै नयाँ विकास, नयाँ सभ्यता र नयाँ संस्कार आउने बताए। गाउँमा बिजुली आएसँगै दैनिक जनवीजनका धेरै काममा सहजता आउने तथा स्थानीय उद्योग स्थापना गर्न सकिने उनको भनाइ थियो।
यसअघि गाउँमा बाटो आयो, सहरको सामान सस्तोमा गाउँ आउन थाल्यो। गाउँमा उत्पादन भएका अन्न, तरकारी र फलफूल बजार जान थाले’, उनले भने, अहिले बिजुली आयो अब विद्यार्थीलाई टुकी बालेर पढ्नुपर्दैन। दाउरा वा ग्यासमा खाना पकाउनुपर्दैन अब बिजुलीबाटै खाना पकाउन सकिन्छ। घरमै मोबाइल चार्ज गरेर आफन्तसँग मज्जाले कुरा गर्न सकिन्छ।’ पुनले राजनीतिककर्मी र राज्य सञ्चालनको भूमिकामा रहेकाहरुले साधन श्रोतको समुचित वितरणमार्फत देशका सबै क्षेत्रमा सन्तुलित र समानुपातिक विकासमा ध्यान दिनुपर्ने उनको भनाइ थियो। गाउँमा सडक, बिजलुी, खानेपानी, सिंचाईको व्यवस्था गर्ने तथा शैक्षिक संस्थाको गुणस्तर सुधार गर्ने नेताहरुको जिम्मेवारी र कर्तव्य भएको उनको भनाइ थियो। पुनले आफू ऊर्जामन्त्री हुनुअघि जिल्लामा २० प्रतिशत मात्र विद्युतीकरण भएको उल्लेख गर्दै अहिले ८० प्रतिशत घरहरुमा विद्युतीकरण पुगेको बताए। एसिएन इन्फ्रा स्टक्चर बैंक र युरोपियन इन्भेष्टमेन्ट बैंकबाट ऋण र सहयोग लिएर रोल्पामा विद्युतीकरणको काम अघि बढाएको पुनले बताए। नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रका प्रमुख अषेश्वर साहले रोल्पामा विद्युतीकरणको काम तीव्र गतिमा भएको बताए। केही महिनाको बीचमा लुंग्री गाउँपालिकाको वडा नम्बर–१, रुण्टीगढी गाउँपालिकाको वडा नम्बर १ र ८, थवाङ गाउँपालिकाको वडा नम्बर–३, गंगादेव गाउँपालिकाको वडा नम्बर– १ र ३ माडी गाउँपालिकाको वडा नम्बर–१ र २, त्रिवेणी गाउँपाकिलाको वडा नम्बर– ६ मा बिजुली बालिएको जानकारी साहले दिए।