काठमाडौँ : गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको शुरुवाती दुई दिन लगातार बढेको छ। आइतवार दोहोरो अंकले बढेको परिसूचक आज (सोमवार) १० दशमलव २६ अंकले उकालो लागेको हो। आज नेप्से परिसूचक शून्य दशमलव ४८ प्रतिशतले बढेर २ हजार १०४ दशमलव ७२ को विन्दुमा कायम भएको हो। ३११ कम्पनीका १ करोड २३ लाख २२ हजार ७०५ कित्ता शेयर १ लाख ३ हजार १५३ पटक खरिदबिक्री हुँदा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २३० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। बैंकिङ समूह शून्य दशमलव ०६, लघुवित्त समूह शून्य दशमलव ०५ र निर्जीवन बीमा समूह शून्य दशमलव ११ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै अन्य समूह १ दशमलव ६४ र जलविद्युत् समूह १ दशमलव ०८ प्रतिशतले बढेका छन्। युनियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने गरिमा डिभेन्चर–२०८५ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै ६० करोड १६ लाख ७१ हजार ८०९ रुपैयाँ बराबरको ९ लाख ५११ कित्ता शेयर किनबेच भएको छ।