‘दाना र ह्याचरीवाला’ले हप्तामा ‘साढे १० करोड’ लुटेको किसानको आरोप

275

फागुन ६,
काठमाडौं । चल्ला र दानाको मूल्य बढाउने उद्योगीको कदमले साना किसानहरु मारमा परेको राष्ट्रिय कुखुरा पालक किसान संघर्ष समितिका अध्यक्ष बिष्णु खड्काले बताए । चल्ला र दाना उत्पादक उद्योगले मनोमानी गर्दा पनि सरकारी निकायले कारवाही नगरेको भन्दै किसानहरुले विभागका महानिर्देशक सामु आक्रोश व्यक्त गरे ।

गत माघ महिनामा मासुको मूल्य किलोमा १९० रुपैयाँसम्म बढ्यो । पुसमा ह्याचरी उद्योगहरुले चल्ला र चल्ला कोरल्ने अण्डा नष्ट गर्ने अभियान चलाएका थिए । त्यतिबेलासम्म सरकार, कृषक, उद्योगी र मासु व्यवसायी कोही पनि यो अभियानको विपक्षमा बोलेनन्, किनकी यस्तो अभियान चलाउँदा कुखुरा, कुखुराको मासु र अण्डाको मूल्य बढ्ने अवस्था थियो ।
अभियान सकिएपछि पूर्वयोजना अनुरुप नै प्रतिकिलो २४० रुपैयाँको मासु एकैपटक ४३० रुपैयाँसम्म पुग्यो । योजनाबद्धकालोबजारी भएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले बनावटी हल्ला पिटायो, अब दोषीलाई कारवाही गर्छौं । तर, न दोषीमाथि कारवाही भयो, न बढेअनुरुप मासुको मूल्य घट्यो ।

तर, चल्ला र कोरल्नुपर्ने अण्डा नष्ट गरेपछि उद्योगीहरुले चल्लाकै मूल्य बढाइदिए । त्यतिमात्रै हैन, त्यसपछि विनाकारण दानाको मूल्य पनि बढाइयो । त्यसपछि कृषकको आँखा खुल्यो कि चल्ला मार्ने अभियान त कृषकको पेटमा नै लात हान्ने अभियान पो रहेछ !
त्यसपछि उनीहरू व्यवसायीको कदम विरूद्ध त बोल्न थाले, तर सरकारले कृषकको साथ भने दिएको छैन । चल्ला र दानाको मूल्य बढेपछि राष्ट्रिय कुखुरापालक किसान संघर्ष समिति गत माघ २० गते सरकारलाई लिखित रुपमै कालोजारीलाई कारवाही गर्न माग गर्दै लिखित निवेदन दियो । तर, सरकार अहिलेसम्म कारवाही गर्ने कर्ममाण्डी जवाफ दिएर बसेको छ । त्यसैले कृषकहरूले ठूला उद्योगी र व्यवसायीले सरकारसँगैको मिलेमतोमा कालो बजारी भइरहेको निश्कर्ष निकालेका छन् ।

मंगलबार पनि चल्ला र दानाको मूल्यवृद्धि गर्ने उद्योगीलाई कारवाहीको माग गर्दै कुखुरा पालक किसानहरुले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा कालोजारीयासँग सरकारको पनि मिलेमतो रहेको लिखित आरोप नै लगाइएको छ ।