Sunday, September 27, 2026
Home शिक्षा नेपालका क्याम्पस रित्तिँदै, विदेशमा पढ्न दैनिक ७०० ले लिन्छन् एनओसी

नेपालका क्याम्पस रित्तिँदै, विदेशमा पढ्न दैनिक ७०० ले लिन्छन् एनओसी

43

काठमाडौं : नेपालमा शैक्षिक गुणस्तर निरन्तर खस्किँदै गर्दा त्रिभुवन विश्वविद्यालय (त्रिवि), आंगिक क्याम्पस र सम्बन्धन प्राप्त निजी कलेजका कक्षा कोठा रित्तिन थालेको छ। विद्यार्थी पाउन क्याम्पसहरूलाई मुस्किल परेको छ। त्रिविका अधिकांश विभाग खालीजस्तै बनेका छन्।िविका अनुसार हिन्दी, इतिहास, जल तथा मौसम विज्ञान, भाषा विज्ञान, मनोविज्ञान, ललितकला, संस्कृत र मैथिलीलगायत विभागमा विद्यार्थीको अभाव छ। हिन्दी केन्द्रीय विभागमा दुई सेमेस्टरमा ६ जना विद्यार्थी भर्ना भएका छन्। कुनै वेला वार्षिक ३०० भन्दा बढी विद्यार्थी त्रिविको जनसङ्ख्या विभागमा विद्यार्थी छैनन्।यस्तै इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बीई, बीआर्क) तहको प्रवेश परीक्षामा गत वर्षको तुलनामा आवेदन दिने विद्यार्थी धेरै भए पनि उपस्थित हुने घटेका छन्।

शैक्षिक वर्ष २०८०/०८१ का लागि प्रवेश परीक्षामा करिब २० प्रतिशत विद्यार्थी सहभागी नभएको पाइएको छ। अध्ययन संस्थानका सहायक डीन तथा प्रवेश परीक्षा बोर्डका अध्यक्ष प्राडा सुशीलबहादुर बज्राचार्यका अनुसार यो वर्ष १० हजार विद्यार्थीले प्रवेश परीक्षामा आवेदन दिएकोमा आठ हजार मात्रै सहभागी भए। गत वर्ष नौ हजार ४०० ले आवेदन दिएका थिए भने त्यसको १० प्रतिशत मात्रै प्रवेश परीक्षामा अनुपस्थित थिए। उपत्यकाभित्र मात्र होइन, बाहिर जिल्लाका सरकारी तथा निजी क्याम्पसहरूमा पनि विद्यार्थी अभाव छ। चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा कृषि विषय अध्ययन गर्ने विद्यार्थी घटेका छन्। केही वर्षयता कतिपय आंगिक क्याम्पस र सम्बन्धन प्राप्त निजी क्याम्पसमा विद्यार्थी शून्य भए।

कृषि संकायका डिन प्राडा अर्जुनकुमार श्रेष्ठका अनुसार विद्यार्थीको संख्या अझै घट्दो छ। गत वर्ष एक हजार ५२३ जनाले आवेदन दिएकामा ७५३ उत्तीर्ण भएका थिए। विश्वविद्यालयको कृषि संकायमा विगतमा चार हजार ५०० सम्म विद्यार्थीले कृषि स्नातकका लागि आवेदन दिने गरेका थिए। पछिल्ला वर्षमा क्रमशः घट्दै गएर यो वर्ष एक हजार ३६५ जनाले मात्रै आवेदन दिएका छन्।
तीमध्ये एक हजार ५५ जना प्रवेश परीक्षामा उत्तीर्ण भएका छन्। भर्ना अपेक्षित नभएपछि त्रिविको त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयले त स्नातकोत्तर तहमा विद्यार्थी भर्नाको म्याद एक महिना थप गरेको छ। पहिले मङ्सिर २५ गतेसम्म राखिएको भर्ना म्याद अब बढाएर पुस २४ गतेसम्म पुर्‍याइएको छ। यसरी यता क्याम्पसहरू रित्तिँदै गर्दा उता उच्च शिक्षाका लागि विदेश जान दैनिक ७०० सय विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र(एनओसी) लिने गरेका छन्।

साउनयता ३८ हजारभन्दा बढीले लिए एनओसी
​साउनयता ३८ हजार भन्दा बढी विद्यार्थीले एनओसी लिएका छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी शंकर अधिकारीले गत साउन १ गतेदेखि मंसिर १६ गतेसम्ममा ३८ हजार ५६६ जनाले एनओसी लिएको जानकारी दिए।