आकस्मिकबाहेकका सबै सेवा ठप्प,देशभरका चिकित्सक आन्दोलनमा

125

माघ १८,
काठमाडौं। डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरूले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेर आन्दोलन थालेका छन्। नेपाल चिकित्सक संघले देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थालाई आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रूपमा बन्द गर्न आह्वान गरेको छ। संघको हिजो बसेको आकस्मिक बैठकले सरकारका कारण डाक्टर केसीको जीवन संकटमा परेको र उनीसँगको सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको भन्दै आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो। चिकित्सकहरूले अकास्मिक बाहेकका सेवा नदिने भनेपछि बिरामी मर्कामा परेका छन्। अस्पतालमै भर्ना भएर उपचार गराइरहेका र बिहानै अस्तालमा उपचारका लागि पुगेका बिरामी उपचार सेवाबाट बञ्चित भएका छन्। राष्ट्रिय चिकित्सक संघ नेपाल र नेपाल प्रगतिशील चिकित्सक संघले भने नेपाल चिकित्सक संघको आन्दोलनमा कुनै समर्थन नरहेको जनाएको छ। चिकित्सा शिक्षा विधेयक पारित भएकोमा स्वागत गर्दै राष्ट्रिय चिकित्सक संघ र प्रगतिशील संघले आन्दोलनमा सहभागी नहुने विज्ञप्तिमार्फत जनाएको हो। एक अभियन्ताको जीवन रक्षा गर्ने नाममा अति संवेदनशील क्षेत्रमा हडताल गरेर चिकित्सक संघले नागरिक र चिकित्सकबीचको दूरी बढाउने काम गरेको दुई संस्थाको ठहर छ। संघकै आह्वानमा सोमबारदेखि चिकित्सकहरू रिले अनशनमा छन्। थाहाखबर