पुस ७ गते कांग्रेसको बागमती प्रदेश सम्मेलन हुने

70

काठमाडौं । पुस ७ गते नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन काठमाडौंमा हुने भएको छ। कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय काठमाडौंमा बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले पुस ७ गते बागमती प्रदेशको पहिलो सम्मेलन गर्ने निर्णय भएको नेपाली कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले जानकारी दिए।

कार्यसम्पादन समितिको बैठकले सम्मेलन तयारीका लागि विभिन्न समितिहरु गठन गरिएको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्व तथा सबै पदाधिकारी सदस्य रहेको मूल आयोजक समिति गठन गरेको छ। त्यस्तै राजनीतिक प्रस्ताव तयारी उपसमिति संयोजक उपसभापति चन्द्र महर्जन, आर्थिक व्यवस्थापन उपसमिति संयोजक उपसभापति मोहन बस्नेत, सांगठनिक प्रस्ताव तयारी उपसमिति संयोजक महामन्त्री कन्चनचन्द्र वादे तथा सहयोजक सहमहामन्त्री ऋषिराम घिमिरे र आगामी वर्षको कार्यक्रम तयारी उपसमिति संयोजक महामन्त्री राजु श्रेष्ठ तथा सहमहामन्त्री जीवन डंगोललाई तोकिएको छ।

त्यसैगरी कार्यसम्पादन बैठकले आर्थिक प्रतिवेदन तयारी उपसमितिमा कोषाध्यक्ष दीर्घमान श्रेष्ठ, सम्मान उपसमिति सहमहामन्त्री ऋषिराम घिमिरे, खाना ब्यवस्थापन उपसमिति सहमहामन्त्री हरिशरण श्रेष्ठ, स्वागत उपसमिति सहमहामन्त्री जीवन डंगोल, प्रचारप्रसार उपसमिति प्रवक्ता तिलक रुवाली, शुभकामना प्रायोजन तथा रजिष्ट्रेशन उपसमिति निमा लामा, निमन्त्रणा उपसमिति दीपेन्द्र आचार्य, कार्यपछिको प्रतिवेदन तयारी उपसमितिमा वलराम घिमिरे, हल, मञ्च, स्वागत गेट र व्यवस्थापन उपसमितिमा कोकि अस्तानी मगर, स्वास्थ्य शिविर डा.अमित सिं कार्की,सांस्कृतिक कार्यक्रम धनकुमारी थापा सरु, स्वयमसेवक परिचालन प्रज्वल दवाडी र रक्तदान कार्यक्रम संयोजकमा कुमार दुलाललाई तोकेको र संयोजकहरुले आवश्यक्ता अनुसार प्रदेश कार्यालयमा जानकारी दिई सदस्यहरु थप्न सक्ने प्रवक्ता रुवालीले जानकारी दिए।

प्रवक्ता रुवालीका अनुसार काठमाडौंमा हुने पहिलो सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता तथा केन्द्रीय पदाधिकारीहरु र सातै प्रदेशका प्रदेश सभापतिहरूको समुपस्थितिमा सम्मेलन हुने बताए। प्रदेश कार्यसमिति गठनपछि पहिलोपटक बागमती प्रदेशको सम्मेलन हुने लागेको हो ।