सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दै

47

वीरगञ्ज : सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगञ्ज महानगरपालिकामा सञ्चालित सामुदायिक बिद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ। महानगरपालिकामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीले सामुदायिक विद्यालयको स्तर सुधार गर्दै गुणस्तरीय शिक्षामा प्राथमिकता दिएपछि पछिल्लो समय वीरगञ्जस्थित सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको हो। वीरगञ्ज महानगरपालिकाको सामुदायिक विद्यालयको पूर्वाधारको विकाससँगै अङ्ग्रेजी माध्यमबाट समेत शिक्षण सिकाइ थालिएपछि निजी विद्यालय छोडेर सामुदायिक विद्यलायमा अध्ययन गर्न आउने विद्यार्थीको सङ्ख्या बढेको विद्यालयका शिक्षकले बताएका छन्।

महानगरपालिकाको पहलमा वीरगञ्जस्थित त्रिजुद्ध महाविरप्रसाद रघुवीर राम प्रविधिक मावि, माईस्थान मावि, नरसिंह मावि र सिद्धार्थ माविले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएका छन्। “केही वर्ष अघिसम्म अधिकांश विद्यार्थी र अभिभावकको रोजाइ निजी विद्यालय थियो”, वीरगञ्जस्थित त्रियुद्ध माविका प्राधानाध्यापक नवीन मिश्रले भने, “तर पछिल्लो केही वर्षदेखि निजी विद्यालय छाडेर विद्यार्थी हाम्रो विद्यालयमा आउन थालेका छन्”, निजी विद्यालयकै जस्तै अङ्ग्रेजी माध्यममा पठनपाठन र शैक्षिक गुणस्तरीयतामा सुधार ल्याएकाले विद्यार्थी र अभिभावकको हाम्रो विद्यालयतर्फ आकर्षण बढेको हो, उनको भनाइ छ। विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएकाले प्रवेश परीक्षाको माध्यमबाट मात्र विद्यार्थी भर्ना लिन थालिएको प्रअ मिश्रले बताए।