Saturday, September 19, 2026
Home समाचार गैंडालाई मारेर फरार भएकाहरु २५ वर्षपछि पक्राउ

गैंडालाई मारेर फरार भएकाहरु २५ वर्षपछि पक्राउ

29

काठमाडौं । एक सिंगे गैंडा मारेको अभियोग लागेका चार जना २५ वर्षपछि पक्राउ परेका छन्। चितवन राष्ट्रिय निकुञ्जको अमृते पोष्टबाट करिब डेढ किलोमिटर पूर्वमा रहेको पन्ना खोला नजिक खाल्डोमा गैंडा पारेर खाग काटी लगेका व्यक्तिहरू पक्राउ परेका हुन्। २०५५ साल कात्तिक २८ गते निकुञ्जका कर्मचारीले गस्तीको क्रममा उक्त स्थानमा मृत गैंडा भेटेका थिए।

घटनालगत्तै फरार रहेका विष्णु कार्की, काले बानियाँ भनिने गोगनबहादुर बानियाँ क्षेत्री, यामबहादुर बानियाँ र हरि कार्कीलाई २५ वर्षपछि पक्राउ गरिएको निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए।चितवन निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना खड्ग दल गणको संयुक्त टोलीले जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा शनिबार कार्की र क्षेत्रीलाई, आइतबार बानियाँलाई सानोपोखराबाट पक्राउ गरेको हो।

कार्कीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको सहयोगमा पाँचखालबाट शनिबार पक्राउ गरिएको तिवारीले बताए।चितवन निकुञ्जको २०५७ माघ २५ गतेको फैसलाअनुसार तीन जनालाई १० वर्ष कैद, एक लाख रुपैयाँ जरिवाना ठहर भएको थियो। हरि कार्कीलाई ७ वर्ष कैद, ५० हजार रुपैयाँ जरिवानाको ठहर भएको थियो। घटना लगत्तै संरक्षित वन्यजन्तु गैंडा मारी खाग चोरी लगेको मुद्दामा अनुसन्धान अधिकारी तोकेर अनुसन्धान गर्दै जाँदा १७ जनाको संलग्नता देखिएको थियो। पक्राउ परेका चारै जनालाई कारागार कार्यालय भरतपुर चलान गरिएको छ।