भक्तपुर क्याम्पसमा नेविसंघको अराजकता

206

भक्तपुर । भक्तपुर बहुमुखी क्याम्पसा नेविसंघले अराजकशैली प्रस्तुत गरेको भन्दै अन्य संगठनले विरोध जनाएका छन् । त्रिविले भक्तपुर बहुमुखी क्याम्पसको प्रमुखमा कविता लुइँटेललाई जेठ २१ गते नियुक्त गरेको थियो। जेठ २३ गते नेविसंघले क्याम्पसमा तालावन्दी, क्याम्पसको भौतिक सम्पत्तिमाथि क्षति पुर्‍याउनुका साथै क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याएका थिए । नेविसंघले भक्तपुर बहुमुखी क्याम्पसका प्रमुख कविता लुइँटेललाई अभद्र व्यवहार गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विरोध जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट नियुक्त भई आउनु भएकी क्याम्पस प्रमुख लुइँटेललाई बिना कारण अभद्र व्यवहार गरेको र क्याम्पसको भौतिक सम्पत्तिमाथि नेविसंघले क्षति पुर्‍याएको भन्दै युनियनले विरोध जनाएको हो । क्याम्पसका स्ववियु सभापतिले कुनै एक विद्यार्थी सङ्गठनले गरेको विरोध कार्यक्रमको समर्थनमा विज्ञप्ति निकालिएको प्रति अनेरास्ववियुले घोर विरोध जनाएको छ । गैर जिम्मेवार खालको आन्दोलनमा स्व।वि।यु।ले एकलौटी रूपमा निकालेको विज्ञप्ति सच्याउन समेत अनेरास्ववियुको माग छ । अनेरास्ववियु भक्तपुर बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष यादव दुलालले जारी गरेको विज्ञप्तिमा क्याम्पसमा भएको विभिन्न कार्यक्रमको आर्थिक पारदर्शिता, कर्मचारी नियुक्त गर्दा खुल्ला विज्ञापनको आधारमा गर्नुपर्ने, ई(हाजिरी सञ्चालनमा ल्याउनुपर्ने, व्यवस्थित पुस्तकालय र सीसीटिभि व्यवस्थित रूपमा राख्न समेत माग गरेको छ ।

यस्ता गैर जिम्मेवार खालको आन्दोलन नसच्याइएमा अनेरास्ववियुले लेखा शाखामा तालाबन्दी देखि अनेकौँ चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत विज्ञप्ति मार्फत दिएका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले पनि क्याम्पसमा भएको तालाबन्दीका साथै अन्य गतिविधिले सङ्गठनप्रति ध्यानाकर्षण भएको जनाएको छ । क्याम्पसमा भएको घटनाको सत्य/तथ्य छानबिन गर्न र सम्बन्धित सरोकारवाला पक्षहरूसँग प्रत्यक्ष वार्ता गरी क्याम्पसमा सहज शैक्षिक वातावरण निर्माण गर्न क्रान्तिकारीले माग गरेको छ । अनेरास्ववियु क्रान्तिकारी भक्तपुर बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष नवराज सिंह धामीले बुभबार एक विज्ञप्ति जारी गर्दै सम्बन्धित पक्ष समस्या समाधानको लागि नजुट्ने हो भने क्याम्पसको वातावरण सहज बनाउन जस्तो सुकै कदम चाल्न तयार रहेको विज्ञप्ति मार्फत जनाएको छ ।