गर्मी बिदा नगरेपछि विद्यालय बन्द गराउँदै प्रहरी

23

नेपालगञ्ज : नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय पठनपाठन बन्द गर्ने सूचना टाँस गरेको थियो। सूचनालाई बेवास्ता गर्दै बिदा नदिने संस्थागत विद्यालयमा नेपालगञ्ज उपमहानगरपालिकाले आइतबारदेखि नगर प्रहरी परिचालन गरेको छ। उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाले सामुदायिक, मदरसा र निजी विद्यालयलाई आगामी समयमा हुने बर्खे बिदाबाट कट्टा हुनेगरी आइतबारदेखि २३ गते मङ्गलबारसम्म बन्द गरिएको सूचना जारी गरेको थियो। उक्त सूचनाविपरीत पठनपाठन सञ्चालन गरेको जनाउँदै आदर्श माध्यमिक विद्यालय नेपालगञ्ज, जयबागेश्वरी बोर्डिङ स्कुललगायतका विद्यालयमा नगर प्रहरी पठाएर बन्द गराइएको उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरको सूचनाविपरीत पढाइ सञ्चालन भएपछि उपमहानगरले ती विद्यालयमा नगर प्रहरी पठाएको थियो। नगर प्रहरी प्रमुखको नेतृत्वमा बन्द गराउन विभिन्न विद्यालयमा आइतबार पुगेका थिए।

आदर्श माविले गर्मीयाममा विद्यार्थीका लागि कक्षाकोठामा ‘एसी’ चलाउनुपर्ने जनाउँदै मासिक रूपमा दुई सय रुपैयाँ विद्युत्‌को अलग शुल्क लिने गरेको छ। विद्यालय बन्द गराउन पुगेका नगर प्रहरीलाई विद्यालय प्रशासनले गर्मीमा पठनपाठनमा सहज गराउनका लागि प्रत्येक कक्षाकोठामा एसी जडान गरिएको र गर्मीले विद्यार्थीलाई खासै असर नगर्ने जवाफ दिएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताए। नगर प्रहरी पुगेपछि ती विद्यालयले सोमबारदेखि लागू हुने गरी गर्मी बिदा गरेका छन्। आदर्श माविले अभिभावकलाई पठाएको सूचनामा अत्यधिक गर्मी भई पठनपाठनमा कठिनाइ भएकाले विद्यालयको आगामी समयमा हुने बर्खे बिदा कट्टी हुने गरी यही जेठ २२ गते सोमबारदेखि २३ गते मङ्गलबारसम्म विद्यालय बन्द रहने उल्लेख छ।