ए डिभिजन लिगमा सातदोबाटो युथ क्लब पराजित

20

काठमाडौँ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ । आइतबार ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको ६३ औं मिनेटमा निकोलस सङले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६७ औं मिनेटमा सनम लिम्बुले गोल गर्दै एनआरटीलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा सातदोबाटोका शिव सुवेदीले गोल गरेपनि एनआरटी २-१ ले विजयी भयो । जितसंगै एनआरटी २२ खेलमा २९ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । सातदोबाटो २२ खेलमा २९ अंकका साथ छैटौँ स्थानमा रहेको छ । त्यस्तै आइतबार नै एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङले थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गरेको छ । मनाङको जितमा चेतन कुमार थारूले खेलको ३८ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै मनाङले २२ खेलमा २८ अंक जोडेको छ । थ्री स्टारको २२ खेलमा २६ अंक रहेको छ ।