सूर्यविनायकमा नयाँ अभ्यास: विकास निर्माण स्थलमै अन्तरक्रिया

69

भक्तपुर । सूर्यविनायक नगरपालिकाले गरेका नमूना विकासको सञ्चारकर्मीले स्थलगत अनुगमन गरेका छन् । शुक्रबार राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजनामा नगरपालिकाको वडा नं १, २, ४ र ७ मा भएका विकास निर्माणको अनुगमन र स्थलगत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै वडा नं १ का वडाअध्यक्ष सानुकाजि कायस्थले सडक पूर्वाधारका धेरै काम सकिएको बताउँदै जनप्रतिनिधि आएपछि सरकारी विद्यालयमा प्रसस्त सुधारका काम भएको बताए । वडामा रहेका ५ वटा सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा अहोरात्र खटेको बताएउँदै कायस्थले वडा न १ र ४ जोड्ने पक्की पुलको समेत निर्माण भइरहेको बताए । सिरुटारको माथिल्लो भेगमा समेत पक्की सडक विस्तारको कार्य चलिरहेको उनको भनाई थियो ।

वडा नं २ का अध्यक्ष प्रदिप कार्कीले नयाँ जनप्रतिनिधि आएपछि वडामा विकास निर्माणका कार्यले गती लिएको बताउँदै पछिल्लो समय वडामा ढल निकाशको लागि धेरै काम भइरहेको जानकारी दिए । सामुदायिक विद्यालयमा सुधारका धेरै कार्य भएकाले बिद्यार्थीको संख्या बढेको उल्लेखगर्दै कार्कीले स्थानिय बासिन्दामा समेत सामुदायिक विद्यालयप्रतिको रुचि बढ्दै गएको बताए । यो वडामा खानेपानीको भने मुख्य समस्या भएकाले नगरपालिका यसको समाधानकोलागि मेलन्चीको पानी ल्याउने सम्झौता भएको बताए ।

सुर्यविनायक नगरपालिका वडा नं ४ का वडाध्यक्ष लछुमन न्यौपाने वडामा संघ, प्रदेश र नगरपालिकाबाट विकास निर्माणका काम भइरहेको बताउँदै चालु आर्थिक वर्षको काम ७० प्रतिशत सकिएको जानकारी दिए । चरखण्डीबाट छहरेसम्म सडक कालोपत्रे गर्ने कार्य भइसकेको बताउँदै न्यौपानेले वडाले विकास निर्माणसंगै शिक्षा, स्वास्थ्य लगायतलाई पनि प्राथमिक्तामा राखेर काम गरिराखेको बताए ।

त्यसैगरि वडा नं ७ मा व्यक्तिले प्रयोग गरिहेको सार्वजनिक जमिनलाई बजेट विनियोजन गरि रंगशाला बनाउने कार्य चलिरहेको वडाअध्यक्ष रविन्द्र सापकोटाको भनाई थियो । वडाको खानेपानीको समस्या समाधान गर्न वृहत खानेपानी योजना चलिहेको बताउँदै सापकोटाले अघिल्लो पटक सडकको माग धेरै भएपनि यसपटक पार्टी पौवा र मन्दिर, सार्वजनिक भवन लगायतका संरचना बनाउन माग आउँने गरेको जानकारी दिए । वडाले विकासलाई रोजगारीसंग जोड्ने काम समेत गर्दै आएको वडाध्यक्ष सापकोटाको भनाई थियो ।

स्थलगत अनुगमनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रकाश धौलाकोटी, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, उपाध्यक्ष लिला श्रेष्ठ, सचिब संजिप घिमिरे, निर्वतमान अध्यक्ष पुष्करराज बुढाथोकीलगायत राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकाहरुको विशेष सहभागिता रहेको थियोे । राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यले स्थानीय सरकारले पछिल्लो समय धेरै राम्रा काम गरेपनि आम सर्वसाधारणसंग पुग्न नसकेको महसुस गरेर स्थलगत अनुगमन र अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताए ।