नेपाल–भारत टी २० नेत्रहीन महिला क्रिकेट सिरिज मंगलबारदेखि

28

ललितपुर : दोस्रो नेपाल भारत बाइल्याटेरियल टी २० नेत्रहीन महिला क्रिकेट सिरिज मंगलबार सुरु हुँदैछ।नेत्रहीन क्रिकेट संघ, नेपालको आयोजनामा हुने प्रतियोगितामा नेपाल र भारतका नेत्रहीन महिला क्रिकेट टिमबीच ५ वटा खेल हुनेछ। काठमाडौंमा तीन र पोखरामा दुई खेल हुने अध्यक्ष पवन घिमीरेले जानकारी दिए।

सिरिजका लागि सुष्मा पटेलको कप्तानी रहेको २२ सदस्यीय भारतीय नेत्रहीन महिला क्रिकेट टिम आइतबार दिउँसो नेपाल आउँदै छ। भारतीय टिमलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा संघका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले स्वागत गर्ने कार्यक्रम छ। काठमाडौं आएलगत्तै भारतीय टोली बसमार्फत पोखरातर्फ लाग्ने कोषाध्यक्ष श्रेष्ठले बताए। त्यहाँ रहेर मंगलबार र बुधबार दुई खेल खेलेर बिहीबार टोली काठमाडौं आउनेछ। उनका अनुसार नेपाल र भारतको टिमबीच मुलपानीको तल्लो क्रिकेट मैदानमा आगामी शुक्रबार, शनिबार र आइतबार तीन खेल खेल्नेछ।

नेपालको राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोली भने गत चैत १७ गतेदेखि नै पोखराको क्रिकेट मैदानमा सञ्चालन भइरहेको बन्द प्रशिक्षणमा रहेको छ। रिजन प्रजु प्रमुख प्रशिक्षक रहेको नेपाली टोलीमा सहायक प्रशिक्षक नहेन्द्र निरौला छन्। १५ सदस्यीय नेपाली टोलीमा मुना अर्याल, रिता थापा , प्रतिभा राई , सरिता घिमिरे, मनकेशरी चौधरी, विमला राई, विनिता पुन, गीता पौडेल छन्।
यसैगरी दिल्लीशरा धमला, सुष्मा तामाङ, वनिता मगर सोमाई, कान्ति योगी, माया लुङ्गेली, निशा चौधरी र भगवती भट्टराई पनि टोलीमा छन् ।