प्रचण्डविरुद्ध नाराबाजी गर्ने कारागार चलान

92

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना कारागार चलान भएका छन् । धरौटी नबुझाएपछि प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्कालाई केन्द्रीय कारागार पठाएका हुन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जनदत्त भट्टले धरौटी नबुझाएका कारण उनीहरु जेल चलान भएको पुष्टि गरे । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए ।

७ चैतमा काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । त्यस क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ गरेर गाडीमा राख्ने क्रममा प्रहरीले उनीहरुको मुख थुनेको भिडियो सार्वजनिक भएको थियो, जसको सार्वजनिक रुपमा आलोचना भएको थियो ।