बल्ल बेनिशाको पोल्टामा हिट फिल्म !

45

काठमाडौं । अभिनेत्री बेनिशा हमाललाई १२ वर्ष लामो करिअरमा एउटा पनि फिल्म हिटको सूचिमा परेको छ । बेनिशाको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘छक्का पञ्जा ४’ले यतिखेर बक्सअफिसमा आक्रामक कमाई गरिरहेको छ । सम्भवतः दोस्रो हप्ताको विकेन्डसम्म फिल्मले १० करोडको आँकडा पार गर्न सक्नेछ । एकातिर फिल्मको कलेक्सन ग्राफ उकालोलाग्दो छ भने अर्कोतिर आफ्नो अभिनय र चरित्रलाई दर्शकका साथै समीक्षकले पनि प्रशंसा गर्दा उनलाई दुवै हातमा लड्डू झैं भएको छ । सन् २०११ मा प्रदर्शन भएको फिल्म ‘स्वर’बाट उनले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । अभिनेत्रीद्वय केकी अधिकारी र रीमा विश्वकर्माको डेब्यू पनि यही फिल्मबाट भएको थियो । संयोग नै मान्नुपर्छ, केकीको पहिलो हिट दीपकराज गिरी र दीपाश्री निरौला समुहको ‘छ माया छपक्कै’ थियो । र, बेनिशाले पनि पहिलो पटक हिटको सुस्ख दीपक/दीपाश्री समुहकै फिल्मबाट पाएकी छन् । ‘स्वर’पछि उनले एक दर्जन बढी फिल्ममा काम गरिन् । प्रायःमा उनको अभिनयको राम्रै प्रशंसा भयो । फिल्म ‘ब्लाइन्ड रक्स’बाट पोल्टाभरि उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत पाइन् । तर, हिटको खुसी उनलाई कुनैले दिएका थिएनन् ।