मोहन निरौला र रेजिना उप्रेती कलाकार संघको अध्यक्षमा भिड्ने

38

चलचित्र कलाकार संघको आगामी चैत ४ गते नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुँदैछ । निर्वाचनको मिति घोषणा भएदेखि अध्यक्षसहित विभिन्न पदमा कलाकारहरुले उम्मेदवारी घोषणा गर्दै आएका थिए । शनिबार भएको उम्मेदवारी दर्ताअघिसम्म अध्यक्ष पदमा मात्रै ५ जना आकांक्षी देखिएका थिए । तर, उम्मेदवारी दर्ता मोहन निरौला र रेजिना उप्रेती (पोखरेल)ले मात्र गरेका छन् ।

अध्यक्षमा आकांक्षा देखाएका वर्तमान अध्यक्ष रविन्द्र खड्का, सविन श्रेष्ठ र सुशान्तकुमार श्रेष्ठ पछाडि हट्दा मोहन र रेजिनाबीच प्रतिस्पर्धा हुन लागेको हो । मोहन संघका वर्तमान उपाध्यक्ष तथा प्रवक्ता हुन् भने रेजिना वर्तमान महिला उपाध्यक्ष हुन् । चुनाव नजिकिँएसँगै दुवै जित निकाल्ने रणनीतिमा जुटेका छन् । सामाजिक सञ्जालमा दुवैको पक्षमा कलाकारहरु खुल्ने क्रम बढेको छ ।

त्यस्तै, धनबहादुर बम्जन (डीबी), कविता गेलाल, शिवहरि नेपाल, सरिता गिरी, पवनप्रसाद खतिवडा (बाबा), तेजकुमारी खतिवडा र विष्णुप्रसाद रिजालले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । महासचिवमा सञ्जय खतिवडा, धर्मानन्द आचार्य, सविन श्रेष्ठ, पनाह अधिकारी र उत्तम केसीले उम्मेदवारी दिएका छन् । अध्यक्षको आकांक्षा छाड्दै सविन महासचिवमा भिड्न लागेका हुन् ।