काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम त्रिदेशीय शृंखलामा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध बलिङमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २४९ रनको लक्ष्य पछ्याइरहेको युएईले सात ओभरको समाप्तिमा चार विकेट गुमाएर १३ रनमात्र बनाएको थियो । नेपालका ललित राजवंशीले दुई विकेट लिए । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए ।
नेपालका ललित राजवंशीले पहिलो ओभरको पहिलो बलमै सफलता दिलाएका थिए । राजवंशीले युएईका ओपनर भ्रित्या अरविन्दलाई बोल्ड गरे । तेस्रो ओभरको चौथो बलमा दीपेन्द्रसिंह ऐरीले आर्यन लक्रालाई बोल्ड गरे । यस्तै, पाँचौँ ओभरको चौथो बलमा राजवंशीले युएईका मुहम्मद वसिमलाई कुशल भुर्तेलमार्फत क्याच आउट गराए । छैटौँ ओभरको पहिलो बलमै सोमपालले युएईका अर्का ओपनर आसिफ खानलाई विकेटकिपर आसिफ शेखमार्फत क्याच आउट गराए ।
युएईका भ्रित्या अरविन्द र आर्यन लक्रा ‘डक’ भए । यस्तै, आसिफ खान ६ रनमा र कप्तान मुहम्मद वसिम एक रनमा पभेलियन फर्किए । अहिले युएईले १२ ओभरको समाप्तिमा ३१ रन बनाएर खेलिरहेको छ । त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४८ रनको योगफल खडा गरेको थियो ।