काताको स्वर्ण विभागीय टोलीको कब्जामा

46

पर्वत । नवौ राष्ट्रिय खेलकुदअन्तर्गत कराँतेका कातातर्फका प्रतिस्पर्धामा तीनै विभागीय टोलीले स्वर्णपदक कब्जा गरेका छन् ।

पर्वतको कुश्मामा सञ्चालन रहेको कराँते खेलका तीनवटै विधाका खेलमा विभागीय टोलीले स्वर्णपदक जितेका हुन् । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीयको विरासतलाई भत्काउने प्रयास अन्य टोलीको थियो ।

महिला काता मू;हको फाइनलमा प्रदेश नम्बर १ लाई आर्मीले पराजित गर्दै स्वर्णपदक जित्यो । विभागीयलाई पराजित गर्ने लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रिएको प्रदेश नम्बर १ ले रजतमा नै चित्त बुझाएको छ । सोही खेलबाट बागमती प्रदेश र नेपाल पुलिस क्लबले कास्यपदक जितेका छन् ।

पुरुषतर्फ भएको एकल कातामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गर्दै स्वर्णपदक जितेको छ । एपीएफको तर्फबाट स्वर्णिम मानन्धरले बागमतीका रहेन जावेदलाई पराजित गर्दैस्वर्ण पदक एपीएफको पक्षमा लगेका हुन् । बागमतीले रजत पदकमा चित्त बुझाउँदा नेपाल पुलिस क्लबका महुसस तामाङ र प्रदेश नम्बरका आशिष मगरले कास्यपदक दिलाए ।

महिलातर्फको एकल काताको स्वर्णपदक भने नेपाल पुलिस क्लबले हात पारेको छ । नेपाल पुलिस क्लबका लागि चञ्चला दनुवारले त्रिभुवन आर्मी क्लबकी संगीता मगरलाई पराजित गरेकी छिन् । मगरले त्रिभुवन आर्मीलाई रजतपदक दिलाउँदा कर्णाली प्रदेशका लागि एलिसा रसकोटीमगर र सुदूरपश्चिम प्रदेशका लागि वर्षा राउतले तेस्रो स्थानमा रहँदै कांस्यपदक पाएका छन् ।

शनिबार भएको पुरुष समूह कातातर्फको फाइनल खेल भने समय अभावका कारण आइतबार गर्ने तयारी छ । योसहित आइतबार महिला ५५ केजी, पुरुष ७५ केजी, महिला ६१ केजी र पुरुष ८४ केजीभन्दा माथिको तौल समूह गरेर चारवटा खेल हुँदै छन् ।