Sunday, September 20, 2026
Home खेलकुद जय ट्रफीमा यस्तो छ अंक विभाजन र बोनस अंकको व्यवस्था

जय ट्रफीमा यस्तो छ अंक विभाजन र बोनस अंकको व्यवस्था

7

काठमाडौं । नेपालको एकमात्र बहुदिवसीय क्रिकेट प्रतियोगिताका रूपमा रहेको जय ट्रफी क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । काठमाडौंको त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा खेलहरू भइरहेका छन् । जय ट्रफीमा खेलको नतिजाका आधारमा टोलीहरूले विभिन्न शीर्षकमा अंक पाउने व्यवस्था गरिएको छ। प्रतियोगितामा आउट्राइट जित, टाइ, ड्र तथा हारको अवस्थालाई पहिलो इनिङ्सको नतिजासँग जोडेर मुख्य अंक निर्धारण गरिन्छ।पहिलो इनिङ्समा अग्रता लिएर आउट्राइट जितेमा १० अंक दिइनेछ भने बराबरीपछि जितेमा ८ र पछि परेर जितेमा ६ अंक प्रदान गरिनेछ। त्यस्तै, पहिलो इनिङ्समा अग्रता हुँदाहुँदै खेल टाइ भएमा ७ अंक, दुवै इनिङ्स टाइ भएमा ५ र पहिलो इनिङ्समा पछि परेर टाइ भएमा ३ अंक पाइनेछ।खेल ड्र भए पनि पहिलो इनिङ्समा अग्रता लिएको टोलीले ६ अंक पाउनेछ भने पहिलो इनिङ्स टाइ भएमा ३ अंक दिइनेछ। पहिलो इनिङ्समा पछि परेको अवस्थामा ड्र भएमा कुनै मुख्य अंक प्राप्त हुने छैन। नतिजाविहीन खेल (नो रिजल्ट) मा भने १ अंक प्रदान गरिनेछ।

पहिलो इनिङ्समा अग्रता हुँदाहुँदै आउट्राइट हार बेहोरेमा ४ अंक, पहिलो इनिङ्स बराबरीपछि हार भएमा २ अंक र पहिलो इनिङ्समा पछि परेर हार भएमा कुनै अंक दिइने छैन। यी सबै अवस्थामा टोलीहरूले प्राप्त गर्ने बोनस अंक भने कायम रहनेछ। प्रतियोगितामा बोनस अंक दुवै इनिङ्समा उपलब्ध हुनेछ र खेलको अन्तिम नतिजाले त्यसमा असर पार्ने छैन। ब्याटिङतर्फ पहिलो इनिङ्समा ७० ओभरभित्र बनाइएको प्रत्येक २५ रनमा ०.५ अंक दिइनेछ। दोस्रो इनिङ्समा पनि प्रत्येक २५ रनमा ०.५ अंक दिइने व्यवस्था छ, जहाँ अधिकतम ४ अंकसम्म पाउन सकिन्छ। बलिङतर्फ प्रत्येक विकेट झर्दा ०.५ अंक दिइनेछ र एक इनिङ्समा अधिकतम ५ बलिङ अंक पाउने प्रावधान राखिएको छ।