राष्ट्रपति पद ‘लिलामी’ गर्ने खेलमा दाहाल

32

संसद्को तेस्रो दल माओवादीले बुधबार कांग्रेसलाई समर्थन गर्ने समझदारी गरेको थियो भने बिहीबार एस अध्यक्ष नेपाललाई, शुक्रबार कांग्रेस र एमालेसँग वार्ता गर्ने तयारी

काठमाडौँ — राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको भोलिपल्टै प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई उम्मेदवार बनाउने समझदारी गरेका छन् । नेपालको पक्षमा समर्थन जुटाउने गरी उनले शुक्रबार कांग्रेस र एमालेसँग बैठक गर्ने भएका छन् । दाहालको यो नीतिमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि छन् जसले उपराष्ट्रपतिमा आफ्ना उम्मेदवार उठाउन खोजेका छन् ।

माओवादी अध्यक्ष दाहालसँग बिहीबार एकीकृत समाजवादी र जसपाका नेताले छुट्टाछुट्टै छलफल गरेपछि माओवादी संसदीय दलको कार्यालयमा जसपासहित तीन दलका शीर्ष नेताको बैठक बसेको थियो । बैठकमा सहभागी एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले नेपाललाई राष्ट्रपतिमा अघि सार्ने र शुक्रबार कांग्रेस तथा एमालेसँग वार्ता गर्ने तय भएको बताए । प्रधानमन्त्री दाहालले पनि राष्ट्रपतिका विषयमा शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल हुने जनाएका छन् ।

आफ्नो पार्टीबाट राष्ट्रपति बन्ने निश्चित नदेखिएपछि एमाले अध्यक्ष ओलीले आइतबार नै एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई अघि सर्न प्रस्ताव गरेका थिए । एकीकृत समाजवादीलाई एमालेमा समाहित गरेर राष्ट्रपति बन्न नेपाललाई ओलीको सर्त थियो । ओलीले प्रधानमन्त्री दाहाललाई बुधबार भेटेर पनि नेपाल र सुवास नेम्वाङमध्ये एक जनालाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए । त्यही दिन नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफूलाई समर्थन गर्न आग्रह गरेका थिए । एकीकृत समाजवादी अध्यक्ष नेपालले राष्ट्रपतिमा आकांक्षा भने पहिलेदेखि नै राख्दै आएका थिए ।

राष्ट्रिय सहमतिका लागि अध्यक्ष नेपाललाई अघि सार्दा सहज हुने भएकाले आफ्नो पार्टीले राष्ट्रपतिमा दाबी गरेको एकीकृत समाजवादी उपमहासचिव ज्वालाको भनाइ छ । उनले बिहीबारको बैठकमा कांग्रेससहितको पुरानो गठबन्धन ब्युँताउनेभन्दा पनि समाजवादी मोर्चा गठनको विषयमा ठोस छलफल भएको बताए । ‘राष्ट्रपति निर्वाचनबाट मोर्चा गठनको प्रयत्न भएकै हो, यसलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर छलफल भइरहेको छ,’ उनले भने । जसपाका प्रवक्ता मनीष सुमनले भने पुरानो पाँचदलीय गठबन्धनलाई ब्युँताउने प्रयास हुने, त्यो सम्भव नभए तीन दल ९माओवादी, जसपा र एकीकृत समाजवादी० एक भएर जाने समझदारी बनेको बताए । जसपाले समाजवादी मोर्चाबाटै राष्ट्रपति निर्वाचनमा आफ्नो स्पेस लिन खोजेको छ ।

सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिका रूपमा अघि सार्ने उसको तयारी छ । रामसहायलाई उपराष्ट्रपति बनाएर उनको निर्वाचन क्षेत्र बारा–२ बाट सांसद बन्ने जसपा अध्यक्ष उपेन्द्र यादवको मनोकांक्षा छ । अध्यक्ष यादवले जसपालाई उपराष्ट्रपति दिने विषयमा प्रधानमन्त्री दाहाल सकारात्मक रहेको बताएका छन् । ‘हाम्रो पार्टीले उपराष्ट्रपति पाउने अवस्था भयो भने रामसहायजी नै उम्मेदवार बन्ने सम्भावना छ, यसका लागि अन्य दलबीच वार्ता भइरहेको छ,’ जसपा प्रवक्ता सुमनले भने ।

माओवादीका एक पदाधिकारीले एमालेले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपतिको आश्वासन दिएर पार्टी एकताको प्रयास गरेपछि समाजवादी मोर्चालाई आकार दिने प्रयास गरिएको बताए । नेपालका लागि एमालेभन्दा माओवादीसहितको मोर्चा सहज र राजनीतिक रूपमा अनुकूल हुने उनको भनाइ छ । ‘एमालेको दाउ एकीकृत समाजवादीलाई मिलाएर सबैभन्दा ठूलो दल बन्ने देखियो तर हाम्रो प्रयास छुट्टै मोर्चा बनाएर प्रभावशाली र निर्णायक शक्ति बन्ने रहेको छ,’ ती पदाधिकारीले भने ।

माओवादी तेस्रो ठूलो दल भए पनि राष्ट्रपतिको निर्वाचनमा एमाले वा कांग्रेससँग मात्र मिल्दा बहुमत पुग्दैन । राष्ट्रपति निर्वाचनका लागि एकीकृत समाजवादी २ हजार ५ सय ७४ मतभारसहित चौथो र जसपा २ हजार १ सय ४५ मतभारसहित छैटौं ठूलो शक्तिका रूपमा छन् । माओवादी ७ हजार ७ सय ४५ मतभारसहित तेस्रो शक्तिका रूपमा छ । तीनवटै दलको १२ हजार ४ सय ६४ मतभार भने निर्वाचनको समीकरण निर्माण गर्न र मत परिणाम प्रभावित गर्न हस्तक्षेपकारी हुन्छ ।

त्यही कारण पाँचदलीय गठबन्धनलाई ब्युँताउनेभन्दा समाजवादी मोर्चाबाट संवाद गर्ने रणनीतिमा तीन दल लागेका हुन् । रणनीति सफल भए प्रस्तावित समाजवादी मोर्चाबाटै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री बन्ने अवस्था आउन सक्छ । ‘तीन दलबीच भएको समझदारीलाई कांग्रेसले मान्यो भने पुरानो गठबन्धन ब्युँतिन सक्छ तर कांग्रेसले के गर्छ भनेर अहिल्यै भन्न सकिने अवस्था छैन,’ जसपा प्रवक्ता सुमनले भने ।
कलेन्द्र सेजुवाल/ कान्तिपुर दैनिक