बृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता

47

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताए । आइतबार ७३ औं प्रजातन्त्र मुल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको पनि बताए ।प्रधानमन्त्री प्रचण्डले संविधानले अवलम्वन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्नका लागि बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको उल्लेख गरे ।

उनले देशको राजनीति र अर्थतन्त्रले संकटपूर्ण परिस्थितिको सामना गरिरहेको भन्दै नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारित गर्दै जनताको अवस्था बदल्न, सरल र सहज सेवाप्रवाहमार्फत सुशासनको प्रत्याभुत दिलाउन लागिपरेको बताए । प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रका चुनौतीहरूको सम्बोधन गर्दै समृद्धि संस्थागत गर्न, संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा मुलुकमा दिगो शान्ति स्थापित गर्न सरकार दृढ रहेको बताए ।