शान्ति स्थापनार्थ समन्वय गर्न चीन र फ्रान्स सहमत

51

काठमाडौँ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र चीनका उच्च कूटनीतिज्ञ वाङ यीबीच युक्रेनमा ‘शान्ति स्थापनाका लागि’ योगदान गर्ने विषयमा सहमति भएको फ्रान्सेली राष्ट्रपति कार्यालयले जनाएको छ । रुसको महत्वपूर्ण सहयोगी मानिने चीनले हालसम्म युक्रेनमा एक वर्षयता जारी रुसी आक्रमणको निन्दा गरेको छैन ।

रूसलाई वार्ताको टेबलमा फर्कन चीनले दबाब दिनेमा आफू विश्वस्त रहेको म्याक्रोँले बताएका छन् । बुधबार पेरिसमा म्याक्रोँ र वाङले युक्रेनमा जारी युद्ध र यसको जोखिममा रहेका मुलुकहरूमा उत्पन्न खाद्य सुरक्षा र वित्तीय क्षमता चुनौतिका असरबारे छलफल गरेका थिए ।

उनीहरुबीच ‘अन्तर्राष्ट्रिय कानूनअनुसार शान्तिका लागि योगदान गर्ने एउटै उद्देश्य’ व्यक्त गरेको फ्रान्सेली राष्ट्रपति कार्यालय साँज लिजेले जनाएको छ । फ्रान्स भ्रमणपछि वाङ शुक्रबारदेखि आइतबारसम्म हुने म्युनिख सुरक्षा सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । उनले रुसको राजधानी मस्कोको पनि भ्रमण गर्ने अपेक्षा गरिएको छ । फ्रान्सेली राष्ट्रपतिले जलवायु सङ्कटलगायत ‘विश्वव्यापी चुनौती’ को सामना गर्न चीनसँग सहकार्य गर्ने बताएका छन् । वाङले बुधबार फ्रान्सकी विदेशमन्त्री क्याथरिन कोलोनासँग भेटवार्ता गरेका थिए ।