Monday, September 28, 2026
Home राजनीति जसपाले पठायो लिङ्देन नेतृत्वको दललाई एकताको प्रस्ताव पत्र

जसपाले पठायो लिङ्देन नेतृत्वको दललाई एकताको प्रस्ताव पत्र

166

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले कुमार लिङ्देन नेतृत्वको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताको प्रस्ताव गर्दै पत्र पठाएको छ।  सोमबार पार्टीको तर्फबाट वार्ता समितिका संयोजक रहेका नेता राजेन्द्र श्रेष्ठद्वारा प्रेषित पत्रमा ‘देशले आज श्रमजीवी तथा उत्पीडित समुदायको प्रतिनिधित्व गर्ने पार्टीहरूबिच एकता खोजिरहेको छ।

एकताले देशमा परिवर्तनकारी राजनीतिक एजेन्डाहरू स्थापित गर्न, देशलाई अग्रगमन तर्फ डोर्‍याउन र उत्पीडित वर्ग तथा पछाडि परेका महिला, मुस्लिम, आदिवासी जनजाति, मधेसी, खस, थारु, शिल्पी/दलित, अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायका अधिकार सुनिश्चित गर्न तथा देशको प्रतिकूल राजनीतिक शक्ति सन्तुलनलाई अनुकूल बनाउन सकिने’ उल्लेख गरिएको छ।

पत्रमा भनिएको छ, ‘पार्टी एकताको लागि विचारधारात्मक र सङ्गठनात्मक विषयमा वार्ता एवम् छलफल गर्नका लागि हामी तपाईँको पार्टीसँग हार्दिकतासाथ प्रस्ताव अगाडि बढाउन चाहन्छौ ।’ जसपाले नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमुक्ति लगायतका दलहरूसँग पनि एकताको पहल गरिरहेको छ।