दुई सांसदसहित ४९ जनाविरुद्ध मुद्दा दर्ता

55

काठमाडौँ । पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको आरोपमा निकुञ्जले दुई जना प्रदेश सांसद सहित ४९ जना विरुद्ध मुद्दा दर्ता गरेको छ। गत पुस ४ गते निकुञ्जको जङ्गलबाट मृत जरायो र हतियारसहित पक्राउ परेकाहरू सहित ४९ जना विरुद्ध मुद्दा दर्ता गरिएको हो।

४५ दिनको अनुसन्धान पछि सो प्रकरणमा निकुञ्जले प्रदेश सासंदहरु प्रमोद जैसवाल र श्याम बहादुर खड्का सहित ४९ जना विरुद्ध मुद्दा दर्ता गरिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सूर्य खडकाले जानकारी दिए। यसै गरी पर्सा सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवालविरुद्ध पनि मुद्दा दर्ता भएको उनले बताए।

उनीहरूलाई निकुञ्जले वन्यजन्तुको अवैध चोरी सिकारीका लागि मतियारको रूपमा काम गरेको ठहर गर्दै उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ बमोजिम सजाय हुने सूचना अधिकारी खड्काले बताए। सांसद खड्काको हकमा निकुञ्ज कार्यालय आफ्नो नाममा दर्ता भएको हतियार अन्य व्यक्तिलाई प्रयोग गर्न दिएर वन्यजन्तुको सिकार गर्न लगाएको निकुञ्जले निष्कर्ष निकालेको छ।